अन्तर्वार्ता

दीर्घकालीन नीति बनाएर खेलको विकास गरौँ

By एसेन्स श्रेष्ठ

February 12, 2022

नेपाली खेलकुदमा राष्ट्रिय महिला भलिबल टोलीले दोस्रो पटक जितेको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधी वर्षौँसम्म यादगार रहनेछ । बंगलादेशको ढाकामा भएको च्यालेन्ज कपमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दैँ उपाधी जित्यो ।

भलिबलको परीक्षणलाई नेपालमा अन्तर्राष्ट्रिय स्तरको कर्भडहल छैन । पूर्वाधारको अभावकाबीच पनि नेपाली महिला भलिबल टोलीले पाएको सफलता प्रशंसनीय छ । नेपालमा भलिबलको अवस्था, अवसर र चुनौतीलगायतका विषयमा राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्ष जगदिश भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपालले एभीसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधी भिडन्तसम्मको यात्रा कस्तो रह्यो ?

यात्रा कठिनाईले भरिपूर्ण थियो । न्यूनतम सेवा सुविधाको उपयोग गरेर उपाधी डिफेन्ड गर्दा म लगायत मेरो सम्पूर्ण टोली अत्यन्तै खुसी छौं ।

उपाधी जित्दा र उपाधी डिफेन्ड गर्दा के फरक पाउनु भयो ?

पहिलो पटक जित्दा हाम्रो प्रतिद्वन्दीको स्तर हाम्रो भन्दा अलिक कमजोर नै थियो । त्यसबेला हामी दक्षिण एसियाली गेम्स्को तयारीमा थियौं । करिब ५–६ महिनाजति नै प्रशिक्षण गरेका थियौं । बैंककमा पनि मैत्रीपूर्ण खेल खेलेका थियौं । त्यसबेलाको तयारी निकै नै राम्रो थियो । फलस्वरुप सहजै रुपले प्रतिस्पर्धी टोलीसँग जित्दै उपाधी जितेका थियौं ।

यसपटक भने करिब २ वर्षपछि कोरोनाको कारण खेलाडीहरु निष्क्रिय अवस्थामा नै थिए । तर, थोरै मात्र खेल र करिब ४०–४५ दिनको तालिममा पनि हामीले टोलीलाई प्रतियोगिताको लागि तयार गर्न सफल भयौं । छोटो समय र कम तयारीमा पनि टोलीले राम्रो खेलेर हामीले उपाधी डिफेन्ड गर्दा हामी निकै नै खुसी छौं ।

यसै वर्षको च्यालेन्जकपको नतिजापछि तपाईले म खुसी छैन भन्नुुभएको थियो । अहिले आफूू खुसी हुने गरी टोलीलाई कसरी तयार पार्नुभयो ?

हामीले पहिलो खेलमा श्रीलंकासँग पहिलो दुई सेट गुमाएर तेस्रो सेटमा पुनःआगमन गरेका थियौं । प्रशिक्षणमा गरेको मेहनतको करिब २० प्रतिशतले मात्र त्यो खेल जितेका थियौं । त्यस बेलानयाँ कोर्ट, नयाँ ठाँउ थियो । तसर्थ पहिलो खेल हाम्रो लागि सहज थिएन । तर, हाम्रो खेलाडीको क्षमता र स्तरको बारेमा म राम्ररी अवगत थिए । प्रशिक्षणमा गरेको मेहनतभन्दा राम्रो गरेर उपाधी जित्न आवश्यक थियो । त्यसैले आफु खुसी नभएको धारणाले खेलाडीलाई दबाब महशुश गराएर बिस्तारै उत्प्रेरित गर्दैँ लगेको थिएँ ।

सबैले उपाधीको अपेक्षा गर्दा तपाईं र सम्पूर्ण टोलीलाई कतिको दबाब भयो ?

पहिलो उपाधी जित्दा नेपाली भलिबल संघ, खेलाडी र भलिबल खेलले नै पाएको ख्यातिको बारेमा हामी जानकार थियौं । नेपालमा भलिबलको विकासको लागि प्रतियोगिता जित्नु अति आवश्यक भएको पनि बुझेका थियौं । तसर्थ टाईटल डिफेन्ड गर्नु पर्ने मानसपटलमा राखेका थियौं । यो उद्देश्यले कति ठाँउमा उत्साहित बनायो । फलस्वरुप त्यसबेलाको खेलको नजिता पनि राम्रो भयो । कति ठाँउमा दबाब पनि महशुश गरायो । त्यस स्थितिमा संघर्षपूर्ण जित निकाल्यौं । तर टोलीको मानसिक अवस्था बुझ्दै त्यहि अनुसारले मैले गाईड गर्दैँ लगे ।

पूर्वाधार ठूलो चुनौती हो । अहिले कर्णाली प्रदेश सरकारल अन्तर्राष्ट्रिय कर्भड हल निर्माणको घोषणा गरेको छ । यसलाई कसरी लिनुहुन्छ ?

खेल जिते पश्चात कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ज्यूले मलाई फोन गरेर बधाई दिनुभएको थियो । त्यस कुराकानीको दौरान यो बधाई तबमात्र सार्थक हुन्छ जब तपाईंको कार्यकालमा १० पहाडी जिल्ला ओगटेको कर्णाली प्रदेशको जनाताले आफ्नो बलियो शारीरिक क्षमतालाई भलिबलमार्फत प्रस्तुत गर्न भलिबलको इन्डोर स्टेडियम वा कर्भडहलको उपभोग गर्न पाउनेछन् भनेर मैले सुझाव दिएको थिएँ।

मुख्यमन्त्रीज्यूले सोहि क्याबिनेटमा नेपालको भलिबलको सम्मानमा कर्भडहल बनाउने निर्णय गर्दा हामी निकै नै हर्षित छौं । यसरी नै अन्य मुख्यमन्त्रीज्यूले सातै प्रदेशमा भलिबलको सम्भावना बुुझेर विद्यार्थीका लागि पूर्वधार निर्माण गर्ने हो भन्ने भलिबलको विकासमा अझैं टेवा पुग्न सक्छ।

नेपाली भलिबलको अहिलेको अवस्था चाहिँ कस्ते छ ?

नेपाल भलिबल संघले राष्ट्रिय टोलीलाई आफ्नो स्रोतले भ्याएसम्म डाईटको व्यवस्था गरेको थियो । तर, अन्य खेलजस्तै भलिबलमा पनि वैज्ञानिक विधि अझैं राम्ररी कार्यन्वय नगर्न कठिन छ ।

अन्तर्राष्ट्रिय स्तरमा अपनाईने नीति जस्तै कस्तो न्यूट्रिशन दिने, कुन उमेर समुहलाई कस्तो प्रशिक्षण दिने, मनोवैज्ञानिक रुपले खेलाडीलाई कसरी उत्प्रेरित गर्ने, खेलाडीको पठन पाठन र खेलकुदलाई कसरीसँगै लाने, घरको आर्थिक अवस्था के छ भन्ने पनि जानकारी राख्ने । यता घरको आर्थिक अवस्था नाजुक छ उता देशको लागि खेल्नु पर्नेछ ।

यस्तो बेला खेलाडीको जीवनमा कसरी सन्तुलन ल्याउने । खेलाडीको विभिन्न पक्षलाई बुझेर मानसिक र शारीरिक रुपले सक्षम बनाएर खेलाडीलाई मेडलको लागि तयार गर्ने हो । अन्तर्राष्ट्रिय स्तरमा यस्तो नीति अपनाईन्छ । यद्यपी नेपालमा भने भगवान भरोसा वा इच्छाशक्तिले खेलकुद अगाडि बढिरहेको छ । यो अवस्थालाई परिवर्तन गरे मात्र नेपालको खेलकुदको दिगो विकास गर्न सकिन्छ ।

भलिबलको विकास गर्न के गर्ने अब ?

नेपालले अन्तर्राष्ट्रिय स्तरमा कति वर्षमा एसियन गेम्समा कति ओटा मेडल ल्याउने, कति वर्षमा कति ओटा मेडल ओलम्पिकबाट ल्याउने, त्यसको लागि के के आवश्यक, कति बजेट आवश्यक छ भन्ने एउटा दिगो ५ वर्षीय, १० वर्षीय नीति निर्माण गर्न जरुरी छ ।

यो सबै नीतिलाई कुनै पनि राजनीतिक परिवर्तनले असर नगर्ने गरी कार्यान्वयन गर्न आवश्यक छ । किनभने एउटा सरकार परिवर्तन भएपछि सम्पूर्ण कर्मचारीको परिवर्तन भएको देख्न सकिन्छ जसले जारी कामलाई पनि अस्तव्यस्त हुने गरेको छ ।

नेपाली खेलकुद जगतको विकासको लागि निष्पक्ष, दिगो र प्रभावकारी नीति निर्माण गरिनुुपर्छ । यस्तै, विश्व जगतमा खेलाडीलाई कस्तो सेवा सुविधा दिईरहेको छ । त्यसलाई पनि अध्ययन गर्न आवश्यक छ । कसरी खेल र पढाईलाई सँगै लान सकिन्छ भनेर पनि एउटा खाका कोर्न जरुरी छ । सामाजिक संजालमा धेरै समय बिताउने युवा जमात र कुलतमा फसेका युवापुस्तालाई कसरी खेलकुदको माध्यमबाट शारीरिक र मानिसिक रुपले सबल बनाउन सकिन्छ । त्यसमा पनि एउटा साझा प्रभावकारी नीतिको निर्माण गर्नु जरुरी छ ।

विश्व भलिबल च्याम्पियनसिपमा नेपालको सहभागिता र उपाधी कति सम्भव छ ?

नेपालले भलिबलमा मात्रै नभई अन्य खेलमा पनि विश्व प्रतियोगितामा जित्न राज्यले ५ वर्षे, १० वर्षे, १५ वर्षे योजना तयार गर्न आवश्यक छ । हामीले अहिले च्यालेन्ज कप जित्यौं तर त्यही मेहनतले एसियन गेम्स, ओलम्पिक वा अन्य ठुलो प्रतियोगितालाई तयारी पुग्दैंन ।

ठुलो प्रतियोगितामा जित निकाल्न तहगत रुपमा बलियो प्र्रतिस्पर्धीको शैली र प्रशिक्षणको स्तर अध्ययनगर्न आवश्यक पर्दछ । जस्तै जापानलाई जित्नलाई उनीहरुको खेलाडीको स्तर, प्रशिक्षण शैली, रणनीतिक शैली, डाईट आदि बुझ्न आवश्यक छ ।

अहिले नेपाल भलिबल संघलाई पनि ठुलो चुनौती छ । हामीले अब अर्को प्रतियोगितामा सहभागी मात्र नभई जित्न नै आवश्यक छ र त्यसको लागि दोब्बर मेहनत गर्नुपर्नेछ । त्यसको लागि राज्यबाट अझै भौतिक पूर्वधार निर्माणमा तीव्रता, खेलाडी छनोटको प्रक्रिया संचालन साथै प्रशिक्षणको गुणस्तर विकासको लागि पनि अपेक्षा राखेका छौं ।

नेपालले दक्षिण एसियाली महिला च्याम्पियनसीपको आयोजना गर्ने जिम्मेवारी पाएको छ, यो कति चुनौतीपूर्ण छ ?

नेपाल भलिबल संघले हाम्रो खेलको स्तरलाई उठाउन नै प्रस्ताव गरेको हो । हाम्रो लक्ष्य आयोजक मात्र नभई दक्षिण एसीयाली मुलुकमा नै च्याम्पियन बन्ने हो । त्यसपछि एक स्टेप अगाडि जाने । अनि निरन्तर एक एक पाईलामा सफल हुँदै जाने योजना छ ।

साथै गृहमैदानमा जित्दा यसले खेलाडीमा थप उत्साह बढाउँछ । तर, श्रीलंका र भारत जस्तो अब्बल प्रतिद्वन्दीसँग जित्नभने हाम्रो लागि सहज हुने छैन । यी राष्ट्र र नेपालको स्तर उस्तै भएकोले जित्न चाँडो नै तयारी सुरु गर्न आवश्यक छ ।

अन्त्यमा, खेलको विकास गर्न कसले के गर्नुपर्छ ?

नेपालको कुनाकन्दरामा खेलिने हाम्रो राष्ट्रिय भलिबलमार्फत युवा जनशक्तिलाई, आफ्नो छोराछोरीहरुलाई, नयाँ जनशक्तिलाई अनुशासित र मर्यादित गरेर क्षमतावान खेलाडीको पहिचान गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने माहोल सिर्जना गर्नुपर्छ।

साथै दक्ष र सक्षम समाजसँगै मानसिक र शारीरिक स्वास्थ्य निर्माण गर्न अभिभावकले आफ्नो छोराछोरीलाई भलिबल वा अन्य खेलकुदमा संलग्न गराउन हार्दिक अनुरोध गर्छु । अहिले नेपाली भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा गरेको उपलब्धीलाई कायम राख्न नेपाली भलिबल संघको योजनामा पूर्वाधार निर्माण गरेर गुणस्तरीय प्रशिक्षण र खेलाडी उत्पादन गर्न सरकारबाट निरन्तर सहयोगको आशा गरेका छौं । सम्पूर्ण भलिबललाई माया गर्ने जनसमुदाय एकजुट भएर भलिबलको विकासमा अगाडि सर्न आवश्यक छ ।