प्रहरी

दुरुपयोग भइरहेका सरकारी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लियो

By खबरहब

February 12, 2022

खोटाङ– खोटाङ प्रहरीले सार्वजनिक बिदाका दिन बिना पास चलाइएका चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबारका दिन बिना पास चलाइएका विभिन्न वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगको एक वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ वडा कार्यालयको बा२ब ९४४८ नम्बरको मोटरसाइकल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा२ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका-५ सप्तेश्वर वडा कार्यालयको को२ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३-०२-००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

शनिबारका दिन बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।

बिना पास चलाइएको अवस्थामा नियन्त्रणमा लिइएको सरकारी मोटरसाइकल अव उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने सर्तमा सम्बन्धित कार्यालयलाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।