फाइल फोटो

राजनीति

विगतमा संविधान ल्याउन नसकेकालाई मत दिँदा समस्याः नेता सिंह

By खबरहब

March 12, 2022

काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विगतमा संविधान जारी गर्न नसकेकालाई दुई तिहाइ मत दिँदा संघीयता संस्थागत हुन नसकेको बताएका छन् ।

शनिवार काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभामा नेता सिंहले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन नसकेको बताएका हुन् ।

संविधान जारी भएपछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी–प्रशासनिकलगायत क्षेत्र दुःख झेल्न बाध्य भएको पनि उनले बताए ।

नेता सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।

सम्पूर्ण राजनीतिक पार्टीले भाषणबाजी मात्र नभई शिक्षा, उद्योग जस्तो समाज रूपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनुपर्ने उनले भनाइ थियो ।