तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानमा प्रहरीले नै अहमदिया मुसलमानको चिहान भत्कायो

By खबरहब

March 12, 2022

काठमाडौं– पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई परायाजस्तो व्यवहारमात्रै गरिन्न, मृत्युपछि पनि चिहान भत्काइन्छ । इस्लाम खबरले जनाअनुसार हालै पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले नै अहमदियाहरुको करिब ५० चिहान भत्काइदिएको हो ।

पाकिस्तानको पञ्जाब प्रान्तको हफिजावाद क्षेत्रमा यस्तो घटना भएको हो ।

तीमध्ये केही चिहानमा कुरानका श्लोकहरु रहेको भन्ने उजुरीका आधारमा भत्काइएको जनाइएको छ । केही स्थानीय सुन्नी मुसलमानहरुले यसबारे उजुरी दिएको इस्लाम खबरले जनाएको छ । पाकिस्तानमा यस्तो गर्नु आपराधिक गतिविधि मानिन्छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।