तस्वीर- एपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

By खबरहब

March 12, 2022

काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक देखिएको बताइएको छ । नयाँ सङ्क्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै रहेका छन् । 

त्यसैगरी ग्योङगी प्रान्तमा एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ हजार ७३५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन । 

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीहरूले जनाएका छन् ।