अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

March 12, 2022

सुन्नुहोस् अडियोः

आज फागुन २८, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १२, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यस प्रकार रहेका छन् :

 रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरूले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए ।

उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

फेब्रुअरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ ।

‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौँ,’ विदेशमन्त्री लिज ट्रसले भने । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरूविरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

 पाकिस्तानी नेता पक्राउ

पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज पिएमएल—एन का नेता तथा पूर्वसिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरूले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।

नेता खान विमानमार्फत् भागेर संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाइ छ ।

फेसबुकलाई रुसले आतंकवादी संगठन घोषित गर्ने

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी अधिकारीहरूले सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटालाई आतंकवादी संगठन घोषित गर्न आह्वान गरेका छन् । रुसको अभियोजकको कार्यालयले मेटालाई ‘आतंकवादी संगठन’ घोषणा गर्न आह्वान गरेको हो ।

मेटाले राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक कमेन्ट गर्न छुट दिने नीति ल्याएको समाचार सार्वजनिक भएसँगै रुसमा मेटालाई आतंकवादी संगठनको रुपमा घोषणा गर्न आह्वान गरिएको हो ।

मेटाले रुसी नागरिकको हत्या गरिनुपर्ने किसिमका ‘गैरकानूनी’ पोष्टलाई छुट दिने भएकाले यसलाई आतंकवादी संगठनको दर्जा दिइनुपर्ने अभियोजकको कार्यालयको भनाइ छ ।

रुसले यसअघि नै फेसबुकमाथि प्रतिबन्ध लगाइसकेको छ भने मेटाविरुद्ध आपराधिक अनुसन्धान सुरु गरेको रुसी अभियोजकको कार्यालयले जनाएको छ ।

यसबाहेक आगामी सोमबारदेखि मुलुकमा इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा प्रहरीले नै अहमदिया मुसलमानको चिहान भत्कायो

पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई परायाजस्तो व्यवहारमात्रै गरिन्न, मृत्युपछि पनि चिहान भत्काइन्छ । इस्लाम खबरले जनाअनुसार हालै पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले नै अहमदियाहरुको करिब ५० चिहान भत्काइदिएको हो ।

पाकिस्तानको पञ्जाब प्रान्तको हफिजावाद क्षेत्रमा यस्तो घटना भएको हो ।

तीमध्ये केही चिहानमा कुरानका श्लोकहरु रहेको भन्ने उजुरीका आधारमा भत्काइएको जनाइएको छ । केही स्थानीय सुन्नी मुसलमानहरुले यसबारे उजुरी दिएको इस्लाम खबरले जनाएको छ । पाकिस्तानमा यस्तो गर्नु आपराधिक गतिविधि मानिन्छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको दाबी गरेका छन् ।

मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे । उनले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताए । ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन्,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु ।’

यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन।

रुसी हमलामा हजारौँको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशमा पुगेका छन् । युक्रेन संकटका कारण रुस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ ।

युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रुसी पक्ष थप अप्ठेरोमा परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरुले दाबी गरेका छन् । तर, रुसले भने यसलाई अस्वीकार गर्दै आएको छ । बरु प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन् । ‘सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो। यसले विकासमा सहयोग गर्नुका साथै ठूलो उपलब्धी प्रदान गरेको थियो,’पुटिनले भनेका छन् ।

बढ्दो आतङ्कवादी आक्रमणका कारण पाकिस्तानी सरकार अप्ठ्यारोमा

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा अवस्था अझ खराब हुँदै जाँदा विश्लेषकहरूले शहरी क्षेत्रमा पाकिस्तानी तालिबानको हिंसा मुख्य चुनौति रहेको औँल्याएका छन् ।

केही दिनअघिमात्रै बलोचिस्तानको क्वेट्टा शहरमा भएको विष्फोटमा तीन जनाको मृत्यु भएको थियो भने अरु २४ जना घाइते भएका थिए । विष्फोटको अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले उक्त घटनामा अढाई किलोग्राम विस्फोटकको प्रयोग भएको जनाएको पाकिस्तानको डन समाचारपत्रले जनाएको छ ।

विज्ञहरूले पछिल्लो आतङ्कवादी आक्रमणहरुले पाकिस्तान सरकारलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका छन् । ‘तालिबानलाई सहयोग गरेको र अमेरिकी सैनिक फिर्तीसँगै अफगानिस्तानमा सरकार परिवर्तन भएको अवस्थामा पाकिस्तानको झगडा सार्वजनिक भयो भने यसले अन्तर्राष्ट्रिय स्तरमै पाकिस्तानको बेइज्जत हुनेछ ।’ युरोपियन टाइम्सले लेखेको छ ।

इस्लामावादमा रहेको पाक इन्स्टिच्युट अफ पिस स्टडिजका अनुसार लडाकु समूहलाई नियन्त्रण गर्ने पाकिस्तानको प्रयासलाई अफगानिस्तानको नयाँ सत्ताले कुनै पनि किसिमबाट सहयोग गरिरहेको छैन ।

आफैँले तालिबानको सत्तालाई मान्यता नदिएको तर अरु मुलुकहरूलाई भने यसो गर्न आग्रह गर्दै आएको पाकिस्तानको दोधारे चरित्र स्पष्ट भएको विश्लेषकहरू बताउँछन् ।

केही समयअघिमात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिबानको विकल्प नभएको बताएका थिए । ‘४ करोड अफगानको भविष्य र कल्याणका लागि विश्वले ढिलो चाँडो तालिबन सरकारलाई मान्यता दिनुपर्छ ।’ सीएनएनका फरिद जकारियासँगको अन्तरवार्तामा खानले भनेका थिए ।

युक्रेनमाथि रुसी आक्रमण तेस्रो विश्वयुद्धको सुरुवात हुनसक्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने ।

यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ ।

युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने बाइडेनले चेतावनी दिएका छन् ।

यसैबीच, रुसी सेनाले युक्रेनका तीन ओटा मुख्य सहरहरुमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिस्कर्ष टुंगिएको थियो ।

चीनको चाङ्गचुन शहरमा लकडाउन

कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो ।

चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ ।

स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक र्‍यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो।

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सक्रं मित थपिए

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोना भाइरसबाट संक्रमति भएका हुन्  ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सक्रंमितहरूको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सक्रंमितहरूको संख्या अत्यधिक देखिएको बताइएको छ । नयाँ संक्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै रहेका छन् ।

त्यसैगरी ग्योङगी प्रान्तमा एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ हजार ७३५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन ।

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीहरूले जनाएका छन् ।

हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन

बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालयका एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो ।

बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले समय विताउनु राम्रो हुन्छ, बाहिरका हेरालुसँग राखियो भने उनीहरुकै बानीअनुसारको व्यवहार बच्चाहरुमा पनि विकास हुने गरेको देखिएको छ,” अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

यस्तो प्रभाव सामान्यतया प्राथमिकत कक्षाको अध्ययन सकिएपछि धेरै प्रकट हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी बालबालिका मध्ये ६७ प्रतिशत बालबालिकालाई शिशु कक्षा भन्दा अगाडि पारिवारिक सदस्यभन्दा बाहिरकाले हेरचाह गर्ने गरेको पाइएको थियो । ती मध्ये ३२ प्रतिशतलाई दिवा हेरचाह केन्द्रमा राख्ने गरेको पाइएको छ ।

त्यसैगरी अरु २२ प्रतिशतलाई शिशु स्याहार केन्द्र र अर्को २२ प्रतिशतलाई पारिवारिक सदस्यभन्दा बाहिरका कुनै व्यक्तिले हेरचाह गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार तीन प्रतिशतलाई भने छिमेकीले हेरचाह गरिदिने गरेका छन भने १२ प्रतिशतलाई धाइआमाले हेरचाह गर्ने गरेको पाइएको छ ।

दिल्लीमा आगलागीबाट ७ जनाको मृत्यु

नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा अकस्मात आगो लागेको थियो ।

सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरूले जनाएका छन् । एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो ।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ ।

त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।