समाचार

नेपालमा आज : के-के भयो दिनभर ? (अडियोसहित)

By खबरहब

March 12, 2022

सुन्नुहोस अडियोः

विद्युतीय उपकरण प्रयोग गर्न ऊर्जामन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुस्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छन् । ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरिन् । ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरिन् । हाल एक सिलिन्डर ग्यासको मूल्य १ हजार ५०० भन्दाबढी भएको छ । ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन् ।

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्लाई निकम्मा बनाएर भत्ता खाने थलोको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । आज काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले मुद्धा लडेर ल्याइएको संसद्लाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताए । उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर गरे । त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । एमालेलाई चुनाव जित्नका लागि जनता बाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकाले नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।

गठबन्धन कायम रहे एमालेलाई धुलो चटाउने एकीकृत समाजवादीका अध्यक्ष नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दल मिलेर चुनावमा गएपछि एमालेलाई धुलोपिठो बनाइने दावी गरेका छन् । धादिङको गल्छी गाउँपालिकामा आयोजित नेकपा एकीकृत समाजवादीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको भविष्य अन्धकार रहेको दावी गरे ।

पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने नेकपा एसका नेता खनालको भनाई

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् । आज काठमाडौंमा पार्टीको इलाम –काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले आगामी चुनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताए । उनले कांग्रेसका एक समूह र एमालेले आफूलाई निर्वाचनमा एक नम्वरमा हराउने निर्णय नै गरेको समेत बताए । खनालले चुनावमा पराजयको डरले आफुहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गरे ।  

राष्ट्रिय राजनीति दुई धुव्रमा बिभाजित हुनु बिडम्वनाः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई धुव्रमा बिभाजित हुनु बिडम्वना भएको बताएका छन् । आज काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा पोखरेलले राजनीति दुई धुव्रमा विभाजित हुदा मलुकको समृद्धि र बिकासमा बाधा पुगिरहेको बताए । उनले राजनीतिले बाटो बिराएका कारण नै दुर्भाग्य झेल्नुपरेको धारणा राखे । 

आफ्नै तागतमा निर्वाचन जित्नुलाई उच्च प्राथमिकता दिनेछौँ- दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताए । नुवाकोटमा आज आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको भन्दै पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको बताए ।

 जसपा बैठकमा संघीय परिषद अध्यक्ष डा. भट्टराईको प्रतिवेदन पेस

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रूपमा पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् । संघीय परिषदको शनिवार शुरु भएको पहिलो बैठकमा पेश गरेको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भट्टराईले जसपामा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्ने प्रस्ताव राखे । जसपा पूरै कार्यकर्ता आधारित भेनगार्ड (अग्रदस्ता) पनि नभएको र मास बेस पार्टी पनि नभई स्वयंसेवी अभियन्ताको अनुशासित पार्टी हुनुपर्ने उल्लेख गरे । त्यसैले पार्टीका जिम्मेवारीमा रहेका व्यक्तिहरु निजी काममा नलागी पूरै समय पार्टीमै खट्नुपर्ने उनको प्रस्ताव छ । त्यस्तै प्रादेशिक र स्थानीय पार्टीका पदाधिकरीले पनि पूर्णकालीन सरह समय दिनुपर्ने भन्दै उनले पार्टीको महत्वपूर्ण पदमा पनि रहने र निजी तथा व्यक्तिगत काममा नै व्यस्त रहने हो भने पार्टी कामले गति नलिने बताए ।

अदालतमा विचाराधीन मुद्दालाई लिएर संसद चल्न नदिनु दुखद आन्तरिक मामिलामन्त्री शर्मा  

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले अदालतमा विचाराधिन मुद्धालाई लिएर संसद चल्न नदिनु दुखद भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोगमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मी बीच छलफल कार्यक्रममा बोल्दै मन्त्रि शर्माले प्रमुख प्रतिपक्षी दलले उठाएका माग अदालतमा विचाराधिन अवस्थामा रहेको भन्दै यही विषयलाई लिएर संसद चल्न नदिनु दुखद भएको प्रतिक्रिया दिए । त्यस्तै कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लुम्बिनी प्रदेशका सांसद रामजी घिमिरेले संसद अवरोध हुनुको मुख्य सर्जक नै गठबन्धन सरकार रहेको आरोप लगाए । कार्यक्रममा  नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य बालकृष्ण चापागाई,संघीय सभासद तथा दलित पत्रकार महासंघका अध्यक्ष विनोद पहाडी,सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल लगायतले बोल्दै विकास निर्माण र जनताको हकहितका लागी लड्ने सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

वीरगन्ज महानगरपालिकाका मेयर सरावगी एमालेमा प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेको  हो । बाराको प्रसौनीमा आज दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरे । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य रहनुभएको थियो । आज प्रसौनीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक, वाइसिएलका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता पनि एमालेमा प्रवेश गरेका छन् । त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिहरु पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो । उनीसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गरेका हुन् । माओवादी आदर्श कोतवाल गाउँपालिका अध्यक्ष राकेश यादवलगायत एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तराई÷मधेसको विकास गर्न पहाडको जस्तो पहरो खन्नु नपर्ने भन्दै विकासका लागी सहज भएको बताए।  

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ९२ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ८ सय ७८ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५० सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  

झापामा ७० लाखको औषधि बरामद्

झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट ७०  लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।

बारामा कांग्रेस सभापति चयनका लागि भोलि मतदान हुने

नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । आजका लागि तय भएको मतदान एक दिनपछि सारिएको निर्वाचन समितिले जनाएको छ । हिँजो भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । भोलि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ । पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् । 

बर्डफ्लुको त्रासः सीमानाका साँगामा उच्च सतर्कता

भक्तपुरको सूर्यविनायक नगरपालिका –१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु पुष्टि भएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बनेपा नगरपालिका तथा प्रहरीको संयुक्त टोलीद्वारा सीमानाका साँगामा बर्डफ्लुका पशुपक्षीलगायत सामग्री परीक्षण भइरहेको छ । राजधानी काठमाडौंसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वी नाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो ।

झाडीमा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु

मोरङको सुन्दर हरैचा – ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । हिँजो साझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । बालिकाको उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । ‘यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेको र गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि  नोबेल मेडिकल कलेजमा लगिएकोमा उनको आज मृत्यु हो । हिजो बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएको जनाइएको छ । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट छ । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।  

एमसीसीको विरोधमा ६ दलनिकट युवा संगठनको प्रदर्शन

एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आज काठमाडौंँको माइतिघरदेखि बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरूले विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शन गर्नेहरूमा युवा संगठन नेपाल, वैज्ञानिक समाजवादी युवा लिग नेपाल, अखिल नेपाल युवक संघ, वाइसिएल समाजवादी लगाएतका रहेका छन् । उनीहरुले मुलुकको हित बिपरितको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । 

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता

युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फिर्ता भइसकेका छन् । भारत सरकारको सहयतामा उनीहरू आज काठमाडौं आइपुगेका हुन् । युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ । सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।  आज प्रधानमन्त्री देउवाले ट्विट गर्दै मोदी र उनको सरकारलाई धन्यवाद दिए ।