तस्वीर- इन्डिया टुडे

अन्तर्राष्ट्रिय

भारतमा दुर्घटनाग्रस्त केबलकारबाट उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर एक जनाको मृत्यु

By खबरहब

April 12, 2022

काठमाडौं– दुर्घटनापछि रोकिएको केबलकारमा फसेका यात्रुको उद्धार गर्ने क्रममा हेलिकोप्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

पूर्वी राज्य झारखण्डको देओघर जिल्लास्थित त्रिकुट केबलकारमा प्राविधिक गडबडी आएपछि यात्रु बीचमै फसेका हुन् । आइतबार भएको दुर्घटना फसेका दुई जनाको अझै उद्धार हुन नसकेको भारतको एनडीटीभीले जनाएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएका दुर्घटनास्थलको एक जना हेलिकोप्टरबाट खसेको देखिन्छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको जनाइएको छ । अरु ४० जनाभन्दा धेरैको सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फसेका मानिसहरुलाई चालकरहित हवाई उपकरण ड्रोनको मद्दतबाट खानेकुरा र पानी पुर्‍याइने गरिएको छ । उद्धारकार्यका लागि भारतीय वायुसेना, राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ), सेना र भारत–तिब्बत सीमा प्रहरी परिचालन गरिएको छ ।

यता झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले भने दुर्घटनाको उच्चस्तरीय अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले ट्विटरमार्फत अनुसन्धानको निर्देशन दिइएको बताएका हुन् ।

झारखण्ड पर्यटन विभागका अनुसार ७ सय ६६ मिटर लामो त्रिकुट रोपवे भारतकै सबैभन्दा अग्लो र ठाडो रोपवे हो ।