तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

श्रीलंकाले विदेशी ऋण नतिर्ने

By खबरहब

April 12, 2022

काठमाडौं– चरम आर्थिक संकट र अत्यावश्यक सामानको अभाव खेपिरहेको श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएअनुसार त्यहाँको अर्थमन्त्रालयले विदेशी ऋण तिर्न नसकिने जानकारी दिएको हो । अर्थमन्त्रालयले विदेशी सरकारसहितका ऋणदाताहरुले श्रीलंकाली रुपैयाँमा भुक्तानी स्वीकार गर्न सक्ने समेत जनाएको छ ।

‘ऋण तिर्न निकै चुनातिपूर्ण र असम्भव हुँदै गएको अवस्था छ ।’ श्रीलंकाली राष्ट्रबैंकका गभर्नर पी नन्दलाल विरसिंघेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘हामीले वाह्य ऋण तिर्न भन्दा पनि अत्यावश्यक वस्तुको आयातमा ध्यान दिनुपर्नेछ ।’ उनले भने ।

हाल श्रीलंकामा विदेशी मुद्राको चरम अभाव रहेको जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा मार्च महिनाको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिती १ अर्ब ९३ करोड डलर बराबर छ भने श्रीलंकाले यो वर्षमात्र ४ अर्ब ऋण तिर्नुपर्ने छ ।

श्रीलंकाले ऋण कार्यक्रमका विषयमा अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफसँग आगामी साता छलफल गर्ने जनाइएको छ ।