तस्वीर- सिन्ह्वा

अन्तर्राष्ट्रिय

श्रीलंकामा औषधिको चरम अभाव, भयानक अवस्था आउने चिकित्सकको चेतावनी

By खबरहब

April 12, 2022

काठमाडौं– लोडसेडिङ र जीवन बचाउने औषधिको चरम अभावका कारण श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

श्रीलंकाली चिकित्सकहरूको समूह श्रीलंका मेडिकल एसोसिएसन (एसएलएमए) ले श्रीलंकाका हरेक अस्पतालमा आयातित स्वास्थ्य एवम् शल्यक्रिया सामग्रीको चरम अभाव रहेको जनाएको हो ।

त्यहाँ हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव रहेको जनाइएको छ ।

एसएलएमएलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार स्वास्थ्य सामग्रीको चरम अभावका कारण केही स्वास्थ्य संस्थाहरुले गत महिना देखि नै नियमित शल्यक्रिया स्थगित गरेका छन् ।

लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य बनाएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यहाँ प्रयोगशाला परीक्षणमा पनि कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् भने कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेको जनाइएको छ ।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै काम नगरे मानिस मर्न थाल्छन् ।’ 

औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार संकटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए ।