मनोरञ्जन

भारतीय सिनेम्याटोग्राफरले ‘ह्रस्व दीर्घ’ खिच्ने

By खबरहब

April 12, 2022

काठमाडौँ– भारतीय फिल्मका सिनेम्याटोग्राफर कबीर लालले नेपाली फिल्म खिच्ने भएका छन् ।

उनलाई निता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ डीओपीमा अनुबन्धित गरिएको छ । निर्माण कम्पनी र छायाँकार लालबीच गत आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको निर्देशक चन्द्र पन्तले जनाएका छन् । उनले छायांकन गरेको पछिल्लो फिल्म ‘हिरोपन्ती २’ रिलिजको तयारीमा छ ।

कन्नडा मूलका छायाँकार कबीरले बलिउड थुप्रै फिल्महरु छायांकन गरेका छन् । सलमान खान, शाहरुख खान, अनिल कपुर, टाइगर श्राफ, ऋतिक रोशन लगायतका फिल्म छायांकन गरिसकेका कबीरलाई अनुबन्धित गर्नुको कारण फिल्म हिन्दी भाषामा पनि निर्माण रहेको निर्देशक पन्तले बताए । फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

निता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय प्राविधिकसँगै चिनिएका कलाकारहरु रहने निर्देशक पन्तले बताएका छन् । कन्नडा फिल्म ‘कर्तव्य’ बाट छायांकन करिअर सुरु गरेका कबीरले अनिल कपुरको त्रिमूर्तिबाट बलिउडमा काम सुरु गरेका थिए । त्यस यता उनले कहो ना प्यार है, ताल, खौफ, युवराज, हिरोपन्ती–२ लगायत ३४ हिन्दी फिल्म छायांकन गरेका छन् ।