तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

आँधीका कारण फिलिपिन्समा २५ जनाको मृत्यु

By खबरहब

April 12, 2022

काठमाडौं- फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको मेगी नामक आँधीबाट फिलिपिन्सको पूर्वी तटीय क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।

शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्धार टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।

भीषण वर्षा र हावाले विद्युत आपूर्तिमा अवरोध पुर्‍यउनुका साथै घर तथा मैदान जलमग्न बनाएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरू हिलोको दलदलमा हिँडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरिएका छन् ।

बाढीपहिरोबाट लेटे प्रान्त सबैभन्दा बढी प्रभावित रहेको जनाइएको छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘म रोइरहेको थिए, किनकी त्यहाँ मैले चिनेका मानिसहरू पुरिएका छन् र हाम्रो घर छेउमा पनि पहाड रहेकाले मलाई डर लागेको थियो’, लेटेका एक स्थानीयले समाचार संस्था एएफपीलाई भने ।

लेटेमा २२ जनाबाहेक फिलिपिन्सको दक्षिणमा रहेको डभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ ।