तस्वीर- ग्लोबल टाइम्स/भीसीजी

अन्तर्राष्ट्रिय

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच छलफल

By रासस

May 12, 2022

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच छलफल भएको छ । दुई देशका विदेशमन्त्रीबीच भिडियोमार्फत् वार्ता भएको हो ।

उनीहरूका बीचमा भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरूमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्वितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताएका थिए ।

उनले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताएका थिए ।

जवाफमा बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेश मन्त्रीका रुपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए ।

उनले आफू पाकिस्तानको विदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गरेका छन् ।

उनले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्द सम्बन्ध रही आएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।