तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने

By खबरहब

May 12, 2022

काठमाडौं– फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदन दिने भएको छ । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र प्रधानमन्त्री सन्ना मरिनले संयुक्त विज्ञप्ति जारी गर्दै नेटोमा सदस्यताका लागि आवेदन दिने जनाएका हुन् ।

‘अविलम्ब फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिनुपर्छ ।’ संयुक्त विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्तोले युक्रेनमाथि रुसी आक्रमणले फिनल्याण्डको सुरक्षा अवस्था परिवर्तन गराएको टिप्पणी गरेका छन् ।

यद्यपि उनले हाल आफ्नो मुलुकलाई तत्काल कुनै खतरा भने नरहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ । यद्यपि यसबारे फिनल्याण्डमा गठित विशेष समितिले औपचारिक घोषणा भने आगामी आइतबार गर्ने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्याण्डले नेटोमा सदस्यता लिने महत्वपूर्ण नीतिगत निर्णय गरेको हो । फिनल्याण्डसँगै छिमेकी देश स्विडेनले पनि नेटोमा सदस्यताका लागि आवेदन दिने तरखर गरिरहेको बताइएको छ ।

पछिल्लो समय फिनल्याण्डमा नेटोमा सदस्यताका लागि उच्च जनसमर्थन रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यसअघि २०–२५ प्रतिशत फिन्निसहरुले नेटो सदस्यताका लागि सकारात्मक प्रतिक्रिया दिएको भएपनि युक्रेनमाथि रुसी आक्रमणपछि भने यो बढेर ७६ प्रतिशत पुगेको छ ।

यता अर्को उत्तर युरोपेली मुलुक डेनमार्कले भने फिनल्याण्डलाई नेटोमा स्वागत गरिने प्रतिक्रिया दिएको छ । डेनिस प्रधानमन्त्री मेत्ते फ्रेडरिकसनले फिनल्याण्डको निर्णयले ‘नेटो र हाम्रो साझा सुरक्षा’ लाई बढाउने बताएको बीबीसीले जनाएको छ ।