तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

मालदिभ्समा अब्दुल्लाह यामिनको ‘इण्डिया आउट’ अभियान विरुद्ध युवाहरूको प्रदर्शन

By खबरहब

May 12, 2022

काठमाडौं- मालदिभ्समा युवाहरूको समूहले पूर्व राष्ट्रपति एवम् विपक्षी दलका नेता अब्दुल्लाह यामिनद्वारा सञ्चालित भारत विरोधी ‘इण्डिया आउट’ अभियानको विरुद्धमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीको समूहले यामिन तथा उनको अभियानका विरुद्धमा उनकै निवासअगाडि प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मालदिभ्स युथ फोर्स नामक युवाहरुको समूहले प्रदर्शनको आयोजना गरेको हो । केही दिनअघिमात्रै यो समूहको स्थापना भएको बताइएको छ । यामिन र उनको प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) ले यो समूहलाई लक्षित गर्दै विज्ञप्ति र बयानबाजीलाई तीव्र पारेको एएनआईले उल्लेख गरेको छ ।

यो समूहमा मालदिभ्सको सत्तारुढ मालदिभियन डेमोक्र्याटिक पार्टी एमडीपी तथा उपराष्ट्रपति अहमद अदिबको पार्टी मालदिभ्स थर्ड वे डेमोक्र्याट्स (एमटीडी) का युवा समर्थकहरुको वर्चश्व छ ।

पछिल्ला केही समययता यामिनले राजधानी मालेसहित मालदिभ्सका विभिन्न स्थानमा भारतविरोधी भावना फैलाउने अभियान चलाइरहेका छन् । यही अभियानकै क्रममा मालदिभ्स स्थित भारतीय उच्चायुक्तको कार्यालयअगाडि पनि प्रदर्शनहरुको आयोजना हुँदै आएका छन् ।