फाइल फोटो

देश/प्रदेश

बाढीले दुनैका २४ परिवार विस्थापित

By खबरहब

July 12, 2022

जाजरकोट- ठूलीभेरी नगरपालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनै स्थित शान्ति टोलमा बाढी पहिराले २४ परिवारलाई विस्थापित गराएको हो ।

ठुली भेरी नगरपालिका–३ शान्ति टोलमा अचानक आएको बाढी र पहिराले नन्नाकुमारी विकको एक तले कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार ती सबैको घर खेत, अन्न पानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्कन विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएका थिए । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यसभन्दा अगाडि गरिएको काम समेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ थियो ।