मनोरञ्जन

पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी 

By खबरहब

July 12, 2022

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कलाकर्मीले भेटका छन् । निर्माता अशोक शर्मा, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, निर्देशक निश्चल बस्नेत, कलाकार खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायतले भेटघाट गर्दै मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयमा छलफल गरेका छन । बालेन्द्रले मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए । यद्यपि उनले त्यसतर्फ ध्यान नदिएपछि फिल्मकर्मीहरू अन्य समस्या सहित मेयरसँग भेटघाट गर्न पुगेका हुन्। 

अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेन्द्रले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे । मेयरलाई भेट्न पुगेका फिल्मकर्मीले पाँच बुँदे माग नै राखेका छन् ।  ‘मेयर बालेन्द्र ज्युले आफ्नो महानगर अन्तर्गत पर्ने कार्यहरूलाई सम्पादन गर्छु भन्नु भएको छ । साथै , उहाँले सहजीकरण गर्ने प्रतिवद्धता पनि जाहेर गर्नु भएको छ’ कलाकार निर्मल शर्माले बताए । साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न सघाउन माग गरिएको छ ।

अहिले कोषले स्वास्थ्य परिस्थिति हेरेर एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ । बैठकमा  सहभागी दीपाले यसबारे ध्यानाकर्षण गराएकी थिइन् । फिल्मकर्मीले स्थानीय मनोरञ्जन करमा छुटसँगै वडामै कम्पनी दर्ता हुनुपर्ने , डिजिटल बोर्डलाई व्यवस्थित गर्दै नेपाली फिल्मको प्रचारमा सघाउनु पर्ने,  नगर भित्र सहज र सहुलियत रुपमा छायांकन गर्न पाइनु पर्ने र कल्याणकारी कोषमा सहयोग गर्नु पर्ने माग राखेका थिए।