तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

नाइजेरियामा सेनाको कारवाहीमा २९ जनाको मृत्यु

By खबरहब

August 12, 2022

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारवाहीमा २९ जना लडाकुको मृत्यु भएको छ । केही दिनदेखिको सुरक्षा कारवाहीमा २९ जना मारिएको एवम् ५५ जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारवाहीलाई निरन्तरता दिएको छ । कारवाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएको बताए । सैनिक कारवाहीमा मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।

देशको उत्तर एवम् उत्तरपूर्वी भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको बताइएको छ ।

सैनिक कारवाहीबीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेको नाइजेरियाली सुरक्षा अधिकारीले जनाएका छन् ।