अपराध

आगो लगाएर श्रीमती र सासूको हत्या प्रयास गरेको आरोपमा सदा पक्राउ

By खबरहब

August 12, 2022

महोत्तरी– श्रीमती र सासूको शरीरमा मट्टितेल छर्केर आगो लगाई हत्याको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

औरही नगरपालिका– ८ का शंकर सदाले शनिबार राति ससुराली घरमै श्रीमती ३५ वर्षीया प्रमिलादेवी सदा र सासू ६५ वर्षीया रेसमादेवी सदाको शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।

त्यस लगत्तै फरार भएका सदालाई बुधबार प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्र सम्सी गाउँपालिका –६ कन्हवा बोर्डरबाट पक्राउ गरेको हो ।

उता घाइते प्रमिलादेवी र रेशमादेवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । अहिले उनीहरूको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। मट्टीतेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँखुट्टा जलेको छ ।

शंकरले श्रीमती प्रमिलादेवी परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासू रेशमादेवी पनि सहयोगी रहेको भन्ने शंका गरेर उनीहरूको हत्या प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका शंकरमाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।