तस्वीर- बीबीसी/रोयटर्स

अन्तर्राष्ट्रिय

ट्युनिशियाको तटपारी आप्रवासी बोकेको डुंगा डुब्यो, ११ जनाको मृत्यु

By खबरहब

September 12, 2022

काठमाडौँ- उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारी भूमध्यसागरमा आप्रवासी बोकेको डुंगा दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् ।

३७ आप्रवासी बोकेर इटालीतर्फ जाँदै गरेको डुंगा डुबेपछि ट्युनिसियाको तटरक्षक बलले १४ जनाको उद्धार गरेको छ ।

पछिल्लो पटक थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चारमाध्यम ट्युनिश अफ्रिक प्रेस टीएपीले जनाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।

ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको बताइएको छ ।

उत्तर अफ्रिकाको यस क्षेत्रमा विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ ।