ब्रेकिङ स्टोरी

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

By खबरहब

September 12, 2022

काठमाडौँ- नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

ली सोमबार दिउँसो ३ बजे काठमाडौँ आएका हुन्। काठमाडौँ आएलगत्तै सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो ।

सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एक अर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्त्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।