फाइल फोटो

राजनीति

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुने एमाले उपाध्यक्ष पौडेलको दाबी

By खबरहब

November 12, 2022

रुपन्देही- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रूपन्देही जिल्लालाई भौतिक र मानवीय विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे । उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जित दर्ता गर्ने बताए ।

‘मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरूसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गथ्र्यौं । त्यो तहको समर्थन हामीलाई प्राप्त छ, उनले भने, ‘हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानवीय विकासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानवीय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवारसमेत रहेएका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नैपर्ने बताए ।