राजनीति

‘कामचलाउ सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ’

By खबरहब

December 12, 2022

काठमाडौँ – राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएको छ ।

सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक  र आपत्तिजनक रहेको बताएका हुन् । सरकार काम चलाऊ अवस्थामा रहेको बेला अध्यादेश ल्याउनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसदको बैठक सुरु हुने अवस्थामा काम चलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ । देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुरुवात हो । राष्ट्रपति महोदयले कामचलाउ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ।’ उनले फेसबुकमा लेखेका छन् ।