सांकेतिक तस्बिर

देश/प्रदेश

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत फेला

By खबरहब

December 12, 2022

मलेखु– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । 

जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । ‘विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा छ’, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, ‘निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौँ ।’

मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भइसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।