समाचार

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

By खबरहब

December 12, 2022

बलेवा– जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।

‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो”, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ’, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भने।

यो पुलको निर्माण जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका-६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो । प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पौडेलले बताए । 

रसुवा-श्री गिता-फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।  ‘आगामी असार मसान्तसम्म म्याद थप भएको छ’ पौडेलले भने, ‘थपिएको समयमा काम सकिनेमा आशावादी छौँ ।’

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ । चौँथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इन्जिनियर अनिल श्रेष्ठले दाबी गरे । 

‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौँ तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौँ’ श्रेष्ठले भने , ‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौँ, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’

नदीमा पुल निर्माण गर्दा पटक/पटक पानी तर्काउनुपर्ने र वर्षायाममा पानी तर्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाइ भएको श्रेष्ठले बताए । 

नदीभित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिल्लरमा जोड्ने स्लेप हाल्ने काम सुरु गरिने उनले जानकारी दिए । आगामी बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यस बाहेकका काममा भने अब अवरोध नआउने उनको बुझाइ । १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाँमा लागतमा तीस महिनाभित्र पुल निर्माणको सम्झौता भएको थियो । 

बागलुङ-पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ । समयमा पुल नबन्दा दुई वर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउँछन् । 

गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जा हुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिका हुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु नपर्ने स्थानीयको भनाइ छ ।