स्टोरी

१३ लाख बालबालिकालाई पुग्दैन कोरोना विरुद्धको खोप

By मिलन दाहाल

January 13, 2022

काठमाडौँ– यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशभरका ६० जिल्लाका बालबालिकाहरुलाई कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गरेकोे छ ।

६० जिल्लाका सबै स्थानीय तहहरुले आफ्नो मातहतमा रहेका विद्यालयहरुसँग सहकार्य गरेर १२ वर्ष माथि र १८ वर्ष मुनीका बालबालिकाहरुलाई खोप दिइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका ५७ जिल्लाका बालबालिकाहरुलाई मोर्डना खोप लागाइरहेको छ भने काठमाडौँ उपत्यकाका तीन जिल्लाका बालबालिकाहरुलाई फाइजर खोप लगाउने काम भइरहेको छ ।

स्वास्थ्य मन्त्रालले ५७ जिल्लामा गत पुस ४ गतेबाट मोर्डना खोप दिन थालेको हो भने काठमाडौँ उपत्यकाका बालबालिकाहरुलाई पुस २७ गतेबाट खोप दिन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार फाइजर र मार्डना खोप लगाउने लक्षित बालबालिकाको संख्या करीब ३५ लाख रहेको छ ।

खोप लागाउने लक्षित बालबालिका संख्या करीब ३५ लाखको भएपनि स्वास्थ्य मन्त्रालयसँग सबै बालबालिकाहरुलाई एकैपटक दुवै डोज दिन सक्ने खोप छैन ।

मन्त्रालयसँग अहिले करीब ३६ लाख मोर्डना खोप रहेको छ भने ६ लाख ६४ हजार फाइजर खोप रहेको छ ।

यो हिसाबमा अहिले स्वास्थ्य मन्त्रालयले करीब १८ लाख बालबालिकालाई मोर्डनाको पूर्ण डोज र करिब ३ लाख बालबालिकालाई फाइजरको पूर्ण डोज खोप दिनसक्ने अवस्था रहेको छ ।

अन्य बालबालिकाको लागि माघ दोस्रो सातामा खोप आउँछ: निर्देशक दाहाल

अहिले स्वास्थ्य मन्त्रालयसँग उपलब्ध खोपले करिब २२ लाख बालबालिकाई पूर्ण जोड खोप दिन सक्ने भए पनि बाँकी १३ लाख बालबालिकालाई भने केही समय लाग्ने भएको छ ।

स्वास्य तथा जनसंख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणको खोप अभियानमा खोप लगाउन नपाएका बालबालिकाको लागि खोप ल्याउने तयारी भइरको बताए ।

उनका असार माघ महिना दोस्रो सातामा अन्य बालबालिकाहरुको लागि पनि आवश्यक मात्र खोप आइपुग्ने छ ।

उनले भने,‘ अहिले अपुग भएका बालबालिकाको लागि आवश्य खोप उत्पादक कम्पनीहरुसँग कुरा भइसकेको छ । उनीहरुले जनवरी तेस्रो हप्ताभित्र उपलब्ध गराउँछौँ भनेका छन् ।’

बाँकी १७ जिल्लाका बालबालिकाहरुलाई खोप आएपछि लगाइने

खोप अभियान सञ्चालन गर्न बाँकी १७ जिल्लाका बालबालिकाहरुलाई खोप आएपछि मात्र लगाइने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले बताइन ।

खोप र आवश्यक सिरिन्ज आएपछि बाँकी जिल्लाहरुमा खोप अभियान सञ्चालन गरिने उनले बताइन् ।

उनका अनुसार अपुग खोप र सिरिन्ज ल्याउन उत्पादक कम्पनीहरुलाई अर्डर दिइसकेको छ । केही हप्ताभित्रै बाँकी खोप र सिरिन्ज दिने उत्पादक कम्पनीहरुले जनाएको उनले बताइन् ।

यी हुन् खोप अभियान सञ्चालन भएको ६० जिल्ला

स्वास्थ्य मन्त्रालयलेका अनुसार अहिले खोप अभियान सञ्चालन भएका जिल्लाहरुमा प्रदेश १ को ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग,भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, र उदयपुरका बालबालिकाहरुमा कोरोना विरुद्धको खोप लगाउने काम भइरहेको छ ।

यसैगरी प्रदेश २ का बारा, रौतहट,सर्लाही, मोहत्तरी सिराहा र सप्तरीमा पनि खोप लगाउने काम भइरको छ ।

बाग्मती प्रदेशका रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, भक्तपुर र ललितपुर गरी १० जिल्लामा खोप अभियान सञ्चालन भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका म्याग्दी मुस्ताङ,मनाङ पर्वत लमजुङ, स्याङजा, तनहुँ गोरखा र नवलपरासी पूर्व गरी ९ वटा जिल्लामा खोप अभियान चलेको छ ।

लुम्बीनी प्रदेशमा रुकुम पूर्व, रोल्पा, बर्दिया, प्यूठान, अर्घखाँची, गुल्मी, कपिलबस्तु पाल्पा र नवलपरासी पश्चिम र कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट रुकुम पश्चिम र सल्यान दैलेखका लक्षित वर्गका बालबालिकाहरुलाई खोप लगाइरहेका छन् ।

त्यस्तै सूदुरपश्चिम प्रदेशका दार्चुला, बझाङ, बाजुरा, बैतडी, डोटी,अछाम,कञ्चनपुरमा पनि खोप अभियान सञ्चालन भइरहेको छ ।

यी हुन् खोप अभियान सञ्चालन हुन बाँकी १७ जिल्ला

सुनसरी, मोरङ, झापा, धनुषा,सप्तरी, पर्सा, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक,कास्की बाग्लुङ, बाँके, दाङ्ग र रुपन्देही सुर्खेत, डडेलधुरा र कैलालीका १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाउन बाँकी रहेको छ ।

१७ लाख बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

पुस ४ गतेबाट हालसम्म करिब १७ लाख बालबालिकाले पहिलो जोड खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार बुधवारसम्म १७ लाख ८ हजार ६२६ जना बालबालिको कोरोना भाइरस विरुद्धको पहिलो जोड खोप लगाएका छन् ।

त्यस्तै ३ हजार ७२२ जना बालबालिकाले दुवै डोज खोप लगाएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छ । जम्मा खोप लगाउने बालबालिकाको संख्या १७ लाख १२ हजार ३४८ रहेको छ । जसरमा फाइजर खोप लगाउने बालबालिको संख्या ३५ हजार १७ जना रहेको छ ।