मुख्य समाचार

उड्डयनका पूर्वमहानिर्देशक क्षेत्रीविरुद्धको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश

By खबरहब

February 13, 2022

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिँदै जारी गरिएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

उमेर हदको कारण देखाउँदै अवकाश दिइएपछि क्षेत्रीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आइतबार सोही मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अवकाश दिइएको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

साथै, सबूत प्रमाणसहित विपक्षीलाई १५ दिनभित्र उपस्थिति हुन वा प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश दिएको छ ।

दुवै पक्षबीच छलफल गराई यो मुद्दाको टुंगो लगाउनु उपयुक्त हुने अदालतको ठहर छ । यसका लागि फागुन ९ गते पेशीसमेत तोकिएको छ ।

प्राधिकरणले क्षेत्रीलाई उमेर हदको कारण देखाउँदै पुष २३ गते अनिवार्य अवकाश दिएको थियो ।