मुख्य समाचार

नेकपा एमालेको सचिवालय बैठक जारी

By खबरहब

February 13, 2022

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीेले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको हो ।

ओली निवास बालकोटमा जारी बैठकमा महाअभियोगको विषयमा आफ्नो धारणा बनाउन सोमबारको संसदीय दलको बैठक अघि सचिवालय बैठक बोलाइएको छ ।

एमालेले भोलि ११ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सहभागी हुन एमालेले सांसदलाई आज बेलुकासम्म काठमाडौँ आइपुग्न निर्देशनसमेत जारी गरेको छ ।

आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको हो ।

दोस्रो पटक प्रतिनिधिसभा विघटनलाई मान्यता नदिई तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई अपदस्त गर्ने गरी फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी रहेको श्रोतले जनाएको छ ।