राजनीति

प्रचण्डले ‘जनयुद्ध’ को उपलब्धिसँग कुर्सी साटेः प्रभु साह

By खबरहब

February 13, 2022

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएका छन् ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा भएको शहीद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री साहले प्रचण्डलाई ‘लाल गद्दार’ को संज्ञा दिए ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउँदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौँ शहीदको रगतको बलमा जनयुद्धमार्फत् देशमा प्राप्त उपलब्धिहरू कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ ।

नेता साहले रौतहटका प्रथम ‘जनयुद्ध’ शहीद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे । फतुवा विजयपुर नगरपालिकाकी उपमेयरसमेत रहेकी शहीद महतोकी श्रीमती कान्ति देवी महतोको अगुवाइमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वाहा र उद्धव रेग्मी, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतको सहभागिता थियो ।