धेरै जनप्रतिनिधिको सपना आफ्नो गाउँमा धेरै विकास गर्ने हुन्छ । नागरिकले भोट हालेर चुनाव जिताएपछिप उनीहरु सकेसम्म नागरिकका सबै सपना पूरा गर्ने आश्वासन देखाउँछन् । तर वास्तविकता त्यो हुन भने सक्दैन । जितेको समयमा सबै आश्वासन देखाउने नेताहरु जितेपछि भने एकाएक विस्तारै गुमनाम हुन थाल्छन् । यद्यपी सबैमा यो कुरा पनि लागू हुँदैन । आफ्नै तवरबाट काम गर्न रुचाउने जनप्रतिनिधिमध्येका एक हुन्, गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ । झण्डै ६ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका सुन्दा विकट लाग्न सक्छ । तर कृषि र पर्यटनको प्रशस्त सम्भावना भएको यो गाउँपालिका सेवा सुविधाका हिसाबले विस्तारै सुगमतर्फ लम्किदो छ । प्रस्तुत छ, गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङसँग खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः
तपाइले नेतृत्व गरेको साढे ४ वर्षमा गाउँपालिकाको विकासमा सम्झनलायक के के काम गर्नुभयो ? उपलब्धी के के भए ? मेरो कार्यकालमा मुख्य उपलब्धी भनेको सबै जनतालाई पायक पर्ने ७ वटै वडालाई पायक पर्ने ठाउँमा गाउँपालिका खोल्याँै । जसले गर्दा जनताले अभिभावकत्वको महसुुस गर्न पाए । एक घर, एक धारा अवधारणा थियो । राम्रा समिति बन्न नसकेको कारणले भनेका थियौँ । तर संघीय सरकार र प्रदेश सरकारको समन्वयको अभावमा केही बस्तीमा त्यो पुरा गर्न असमर्थ भयौँ । हामी आइसकेपछि भौगौलिक विकटताका बाबजुद पनि सडक सञ्जाल एउटा वडा बाहेक अन्य तर्फ कच्ची सडक निमार्ण गर्न सफल भएका छौँ । भूगोललाई समेटेर बजेट विनियोजन नभएको कारणले पनि कालोपत्रे गर्ने कुरामा अहिले नै पुरा हुन सक्ने सम्भावना छैन ।
बिजुलीको आपूर्ति कस्तो छ ? जनप्रतिनिधि भएर आउनु अगाडि दुई तीन वटा बस्तीमा माइक्रो हाइड्रो पावर पुगेको थिएन । कतिपय बस्तीमा भुकम्पपछि माइक्रो हाइड्रो पावरलाई ध्वस्त बनाएको थियो । धार्चे गाउँपालिकालाई लोडसेडिङमुक्त गाउँपालिका बनाउन पर्छ भनेर घोषणा गर्यौ । रेमिट हाइड्रोको नाम दिएर सार्वजनिक तथा निजि लगानीको सहयोगमा आउने असारसम्ममा १० देखि ११ मेघावट विद्युत उत्पादन हुदँै छ ।
कृषि क्षेत्रलाई बजारीकरण गर्ने अवस्था छ कि छैन ? हाम्रो गाउँपालिकामा बढी मात्रामा उत्पादन हुने भनेको धार्चेको आलु हो । धार्चेको आलु आफैमा बजारमा प्रख्यात छ, रसायनिक मल विना अर्गानिक मलको प्रयोग गरी उत्पादन गर्छौ । तर वर्षा सिजनमा आलु खन्नुपर्दा त्यसलाई कच्ची सडकबाट बजारसम्म पुर्याउन समस्या छ । त्यसलाई कोल्ड स्टोरमा राख्नका लागि तीन चार वटा कोल्ड स्टोरको निमार्ण गरेका छौँ ।
यस गाउँपालिकाका ८५ वटा कृषक समुहहरु दर्ता भएका छन् । सो समुहले विभिन्न बालिका साथै नगदेबालीको रुपमा कफी लगाउन सुरु गरेका छन् । हाम्रो गाउँपालिकाले पनि कफी विरुवा उपलब्ध गराएका छौँ । धार्चे गाउँपालिका पशुका लागि पनि उर्वर छ, जसकारण अर्गानिक ड्राईमिटलाई पनि प्रोत्साहन गरेका छौँ । व्यवसायका रुपमा पशुपालनका लागि बैकंमार्फत तथा लघुवित्त सस्ंथाबाट क्रण उपलब्ध गराएका छौँ ।
प्राकृतिक रुपमा पर्यटकीय सम्भावना बोकेको यो गाउँपालिका हो, यसलाई प्रर्वद्धन गर्न कस्तो कार्यक्रम ल्याउनुभएको छ ? धार्चे गाउँपालिकाको समृद्धिको आधार भनेको एउटा पर्यटन पनि हो । प्रकृतिको सरंक्षण र प्रर्वद्धनमा धार्चे गाउँपालिका भन्ने मुल नाराका साथ पर्यटनलाई प्राथमिकतामा राखेका छौँ । हाम्रोमा ११ वटा तातोपानी मुल छ । दुई वटा मुललाई कुण्डको रुपमा प्रयोगमा पनि ल्याइसकेका छौँ । न्याली झरना छ । जुन मनास्लु जाने बाटोमा पर्दछ । २० किलोमिटरको साइक्लिङ राखेका छौँ । यहाँको प्राकृतिक मनोरम दृश्य अवलोकन हेदैँ साइक्लिङ गर्न पाउने व्यवस्था गरेका छौँ । जसले गर्दा पर्यटकलाई आकर्षण गर्न सक्छ ।
बेलायतका तत्कालीन राजकुमार ह्यारी आफैँ यस गाउँपालिकामा आएर विद्यालय स्थापना गर्नुभएको थियो । उहाँको नाममा हामीले पनि चम्बु डाडाँलाई ह्यारी हिलले नामाकरण गरेका छौँ । यस्तै ह्यारी पार्क पनि निमार्ण गरेका छौँ । गण्डकी प्रदेशमा पहिलो पटक सगरमाथा चढ्ने आरोहीहरु यस धार्चे गाउँपालिकामा भएकाले हामीले आरोही पार्क निमार्ण गरेका छौँ ।
दोस्रो विश्वयुद्धमा भिक्टोरी क्रस पाउनुभएको थममान गुरुङको गाउँलाई भिसी गाउँ, भिसी पार्क बनाएका छौँ । यो लाप्राक गाउँमा गैरआवासीय नेपाली सघंको सक्रियतामा ५७३ घरहरु निर्माण भएका हुनाले स्थानीय लघु डाडाँलाई शेष नमुना घले हिल भनेर डाडाँको नामाकरण गरेका छौँ । यस्तै आइएनटीए (इन्टरनेश्नल माउण्टेन टुरिजम एलाइन्स ) ६६ देशको संस्था छ । त्यसको सदस्य बन्न सफल भएका छौँ ।
प्राकृतिक रुपमा तथा सांस्कृतिक रुपमा यस गाउँपालिकामा विविध रुपले धनी छ । यहाँ अनौठो खालको संस्कृति मनाइन्छ । जस्तै मकै छर्नु भन्दा अगाडी मकैलाई विधिवत रुपमा पुजा गरिन्छ, यसलाई मकै विवाहको रुपमा लिइन्छ । वर्षेनी यो पर्वका रुपमा मकै विवाहका रुपमा मनाउने गरिन्छ । यस्तै भदौ १ गते आलु खनिन्छ । आलु मेलालाई महोत्सवका रुपमा मनाउने गरिन्छ । जनजातिको बाहुल्यता रहेको यस गाउँपालिकामा घाटु नाच मनाउने गरिन्छ । जसमा ज्युदो देवीका रुपमा घाटुलाई लिने गरिन्छ । नरा नाचँ, लामा नाचँ लयागत धेरै हामीले धार्चेमा आएर हेर्न सकिन्छ, त्यसैले प्राकृतिक तथा कला संग्रहालय धार्चे भनेर पर्यटन ब्राण्ड बनाएको छौँ । धार्चेको मोबाइल एप्सबाट पनि यस गाउँपालिकाको बारेमा थप जानकारी लिन सकिन्छ ।
विद्यालयमा भौतिक संरचनाको अवस्था कस्तो छ ? कति विद्यालयहरु सञ्चालनमा छन् ? पूर्वाधार क्षेत्र अन्र्तगत धार्चेमा ८ वटा विद्यालयमध्ये मनिका माविमा हामीले एउटा प्लस टू सम्मका विद्यालय स्थापना गरेका छौँ । अहिले उच्च शिक्षाका लागि प्लस टू सम्ममा यहीँबाट अध्ययन गर्न सक्छन् । जसमा पर्यटन व्यवसाय तथा प्राविधिकतर्फ वन विज्ञानको विषयमा अध्ययन भइरहेको छ ।
स्वास्थ्य चौकीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? प्रसुति गराउन बाहिर जानु पर्ने अवस्था छ कि ? म जनप्रतिनिधि भएर आउनु अगाडि स्वाथ्य चौकीमा २ वटा मात्र प्रसृति गृह थियो । अहिले संख्या बढाएर पाँच वटा पुर्याएका छौँ । अझै दुई वटा निमार्णको क्रममा छन् । प्रत्येक घरमा ग्रामीण अल्ट्रा साउण्डका लागि घर घरमा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाएका छौँ । अहिले सामुदायिक अस्पताल स्वीच संस्थासँग समन्वय गरेर मिलेर जैन भन्ज्याङमा १५ वटा बेड अस्पताल निमार्णधीन छ । सम्भवतः यो असारमा हामी स्वास्थ्य सेवा विस्तार गछौँ त्यसमा एक जना एमबीबीएस डाक्टर राखेर उपचार सेवा दिने कार्यक्रम अगाडि सारेका छौँ । काठमाडौँको एउटा सुविधासम्पन्न अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसियनको प्रक्रिया पनि अगाडि बढाइरहेका छौँ ।
सामाजिक क्षेत्रमा न्यायसम्पादनको काम कसरी अगाडि बढाउनु भएको छ ? न्यायसम्पादनको हकमा वडा वडामा मेलमिलाप केन्द्र स्थापना भएको छ । मुद्दाको हकमा अहिले सम्म २५ देखि २६ वटासम्म समाधान गरेका छौँ । यस्तै वडामा रहेका मेलमिलाप केन्द्रका कार्यकर्ताको क्षमता अभिवृद्धिका लागि जिल्ला अदालतको अवलोकन गराएर तथा विभिन्न तालिममा सहभागी गराएका छौँ ।
केन्द्र र प्रदेश सरकारसँग समन्वयको तथा सहकार्य कस्तो पाउनुभयो ? सविधानले प्रदान गरेको ३ वटा ससस समन्वय ,सहकार्य, सहअस्तित्वको त्यति राम्रोसँग कार्यान्वयन भएको छैन । हाम्रो गाउँपालिका आफैँमा दुरदराजमा भएको गाउँपालिका हो । जसमा बेला बेलामा इन्टरनेट तथा विद्युतको समस्या भइरहन्छ । कहिलेकाँही इन्टरनेटको समस्याले अर्को गाँउपालिकामा गएर विल फस्र्योट गर्न जानु पर्ने अवस्था छ । नेपाल टेलिकमले इन्टरनेट उपलब्ध नगराएको कारण अझै पनि यस गाउँपालिकाको केन्द्रमा इन्टरनेटको कभरेज राम्रो छैन ।
यस्तै टेलिभिजन पनि अझै गोरखा जिल्लामा भनौ सम्पूर्ण बासीले हेर्न पाएका छैनन । हामीले काठमाडौँमा सञ्चारमन्त्रालयमा पटक पटक निवेदन दियौँ । यस्तै प्रधानमन्त्रीज्यूसँग भेटेर पनि यस विषयमा कुरा राख्यौ उहाँले आश्वासन त दिनुभयो । तर कार्यान्वयनमा विलिनै भयो । स्थानीय जनताको प्रत्यक्ष सरोकार राख्ने सुचनाको हकमा त केन्द्रीय सरकारको समन्वयको अभाव देखिएको छ भने अरु अपेक्षा के होला र ?