मुख्य समाचार

के भाजपाले भारतको ‘नयाँ इतिहास’ लेख्दै छ ?

By सौरभ पन्त

March 13, 2022

के भाजपा (भारतीय जनता पार्टी) अथवा बीजेपी मत छाप्ने कारखाना हो ? आखिर भाजपामा त्यस्तो के राणनीति छ जसले भाजपलाई सन् २०१४ देखि भारतको राष्ट्रिय तथा प्रान्तीय चुनावमा फराकिलो मत आर्जन गर्न सहयोग गरिरहेको छ।

सन्दर्भ हो, अहिले भारतको ५ राज्य (उत्तर प्रदेश, मणिपुर, उत्तराखण्ड, पंजाब र गोआ)मा सम्पन्न विधान सभा चुनावले पनि यो कुरालाई पुनःपुष्टि गरेको छ। उत्तर प्रदेशको ४०३ सिटमा, भाजपाले २५५, गोवाको ४० सिटमा, भाजपाले २०, मणिपुरका ६० सिटमा, भाजपाको ३२, पंजाबाको ११७ सिटमा, भाजपाको २ र उत्तराखण्डको ७० सिटमा, भाजपाको ४७ सिट ल्याएको छ । यो नतिजाले भाजपा केवल पंजाबमा मात्र हारेको देखिन्छ। यी पाँच राज्यको चुनाव २०२४ मा हुने लोकसभा चुनावकोका लागि निकै महत्पूर्ण मानिन्छ ।

उत्तर प्रदेशको मात्रै लोकसभामा ८० सिट छ र उत्तर प्रदेश विधान सभामा ४०३ सिट छ। जसले गर्दा भारतको केन्द्रीय सत्तामा पुग्न उत्तर प्रदेशको राजनीतिमाथि पकड निकै महत्वपूर्ण मानिन्छ।

यो विधानसभा चुनावको नारा पनि भाजपाले रोचक नै दिएको थियो। उत्तर प्रदेशमा समाजदवादी पार्टीको ‘यूपी में का बा’, काँग्रेसको ‘लड्की हुँ लड् सक्ती हुँ’ तथा भाजपाको ‘युपी मे बाबा बा’। भारतीय प्रम मोदीले पनि चुनावीमा सभामा, ‘युपी प्लस योगी, बहुत उपयोगी’ भनेर नारा दिए। ५० देखि ६० लाख आरएसएसको कार्यकर्ताले भाजपाको धमनीमा रगत भर्ने काम गर्छ।

हिन्दुत्व, हिन्दुराष्ट्र तथा अखण्ड भारत, आरएसएसको उद्देश्य हो। यो उद्देश्य कहिले पुरा हुन्छ भन्ने टाइमलाइनको मतलब आरएसएसले गर्दैन। मतलब केवल हिन्दुराष्ट्र निर्माण मा दत्तचित भएर लाग्ने कुराको मात्रै हो। अमित शाह नेता भन्दा पनि ठूला पार्टी म्यानेजर हुन् भने मोदी यो पार्टीको सुपरस्टार तथा योगी आदित्यनाथ एउटा ‘हार्डकोर’ क्याडर।

विकासोन्मुख देशको राजनीतिमा ‘मार्केटिङ’ धेरै शक्तिशालीम मानिन्छ र यो धेरै भावनात्मक तरिकाले जनतासँग जोड्ने औजार हो। यसमा भारतीय प्रम मोदी ‘मास्टर’ छन्, ‘सब का साथ, सब का विकास’ नारा दिएर उनले आफू, आफ्नो दल र सरकार सबैलाई समेटेरै अगाडि बढ्न चाहेको बताउँछन्। साथै उनका उत्तराधिकारीको रुपमा रहेका योगी आदित्यनाथ उग्र छन्, मुस्लिम विरोधी हुन् कि भन्ने भान उनको कार्यबाट हुन्छ। तर, त्यसलाई मोदीको कूटनीतिक शब्द चार्तुय तथा अमित शाहको संगठनिक क्षमताले त्यस्तो कुरा ओझेलमा पारिदिन्छ।

राजनीतिमा ‘योग+भोग’ को संयोजनले गुरु परिणाम दिन्छ। यहाँ योगले अध्यात्म र भोग भनेको भौतिकवाद हो। सार्वजनिक जीवनमा ‘त्यागी’लाई विकासोन्मुख देशका जनताले निकै रुचाएका हुन्छन्। यहाँ त्यागी भनेको अलिकति गरिब जस्तो हो र अधिकांश जनता ‘हेन्ड टू माउथ’ भएकाले अलिकति ‘साधारण’ देख्ने नेतालाई मनपराउछन्। मोदी र योगी त्यागी र भोगी दुईटै देखिन्छन्।

भाजपा, मोदी तथा योगी चर्चित पुस्तक ‘हाउ द बिजेपी वीन्स् : इन्साइड इन्ड्याज् ग्रेटेस् इलेक्स्न मेसिन’ मा लेखक प्रशान्त झा भन्छन्, ‘पहिलो, नरेन्द्र मोदीको बहु–स्तरको अपीललाई चेतनापूर्वक निर्माण गर्ने तरिका। गरिबहरूको लागि, उहाँलाई ‘मसिहा’ को रूपमा प्रस्तुत गरिएको थियो; उच्च र मध्यम वर्गका लागि उहाँ प्रगतिको प्रतीकको रूपमा प्रक्षेपित हुनुहुन्थ्यो र कट्टर भाजपा समर्थकका लागि उहाँले हिन्दू राष्ट्रवादको प्रतिबद्ध प्रवक्ताको प्रतिनिधित्व गर्नुभयो।

साहेरा नायमको ‘द फेडेरल’ मा प्रकाशित लेख अनुसार, बिजेपीले (भगवा पार्टी ) सीमान्तकृत दलित, ओबीसी र मुस्लिम परिवारका महिलालाई विशेष कार्यक्रममा पारेको थियो। जसले भाजपालाई बलियो राजनीतिक लाभांश ल्याउन सहयोग गरेको छ । यस वर्ष १० किलो निःशुल्क खाद्यान्न बाहेक, बीजेपी सरकारले राज्यका १५ करोड जनतालाई पीएम मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको फोटो अंकित नुन, दाल र खाद्य तेलका प्याकेट वितरण गर्यो। सरकारले यो योजना होलीसम्म जारी रहने जनाएको छ। साहेरा नायम फेरि लेख्छिन्, ‘आफ्नो एक चुनावी बैठकमा, प्रधानमन्त्री नरेन्द्र मोदीले मतदातालाई आफ्नो ‘नुनको वफादारी’ प्रमाणित गर्न आग्रह गरे। हरदोईमा पहिलो पटक नुन वितरणको अवसरमा मोदीले भनेः ‘मलाई थाहा छ कि गाउँमा मानिस भाजपा सरकारको निःशुल्क राशन योजनाको कुरा गरिरहेका छन् र ‘हमने मोदीका नमक खाए है,’ भन्दै छन्। हम मोदी को धोका नही देंगे (हामीले मोदीको नुन खायौं, हामी मोदीलाई छाड्ने छैनौं)।

त्यस्तै गरेर किसान सम्मान निधि कार्यक्रम अन्तर्गत प्रत्येक १ करोड रुपैयाँको १० किस्ता, प्रधानमन्त्री आवास योजना अन्तर्गत दुई करोड घर र उज्ज्वला योजना अन्तर्गत आठ करोड निःशुल्क सिलिन्डर वितरण गरिएको थियो। बुथ-स्तरमा बीजेपी कार्यकर्तासँग आफ्नो क्षेत्रका मतदाताको एक तयार सूची छ जसलाई उनीहरु लगातार ‘भुक्तानी समय’ सम्झाउँछन्। बीजेपीले जनतालाई पार्टीलाई भोट दिन बाध्य महसुस गराएको छ। ‘नमक’ को सोजो गर्नुपर्छ भनेर।’

बीजेपीको बढ्दो राजनीतिक शक्ति र मोदीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उचाईको विरोध पनि भारतमा व्यापक छ। राजनीतिशास्त्री सुहास पाल्शिकरका अनुसार, ‘भारतीय जनता पार्टी (भाजपा) को चुनावी वर्चस्व एक असीमित उच्च संचार, संगठनात्मक काम, मिडिया नियन्त्रण र पैसा मा आधारित छ। प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत करिश्मा यसको पूरक हो। यो राजनीतिक प्रभुत्व राज्य शक्ति र सडक शक्ति को अभूतपूर्व प्रयोग द्वारा समर्थित छ। सबै संस्थालाई झुकाउन र असहमतिको धेरै आवाजलाई मौन गर्न पर्याप्त छ।’

किसान आन्दोलनका तथा स्वराज भारतका संस्थापक योगेन्द्र यादव अनुसार, ‘सत्य यो हो कि, यहाँ कुनै वैकल्पिक शक्ति छैन। आजको अवस्थामा कांग्रेस पार्टीले प्राकृतिक वैकल्पिक शक्ति भएको दाबी गर्न सक्दैन। यो सँग अझै पनि सबैभन्दा ठूलो सम्भावित आधार छ, दुई राज्य सरकार (राजस्थान र छत्तीसगढ) र बीजेपी विरोधी (गैर–भाजपाको विपरीत) राजनीति गर्न प्रतिबद्ध छ। तर, यो स्पष्ट रूपमा पुरानो पार्टीलाई बीजेपीको एक मात्र राष्ट्रिय विकल्पको रूपमा आफ्नो स्थान कायम राख्न पर्याप्त छैन। क्षेत्रीय वैकल्पिक शक्तिले केही क्षेत्रमा काम गर्छ, तर हिन्दी हार्टल्याण्डमा होइन। र तिनीहरू मापनयोग्य छैनन्। तृणमूल कांग्रेसको गोवा प्रवेश गर्ने प्रयास सपाट भयो। यो आधिपत्यवादी आक्रमणको सामनामा सरल जातीय अंकगणित अप्रभावी छ।

सामाजिक रसायनशास्त्रमा एसपीको अत्यधिक निर्भरताले यो प्रमाणित गर्दछ। आम आदमी पार्टी पक्कै पनि अन्य क्षेत्रीय दल भन्दा बढी स्केलेबल छ, तर यसले प्राकृतिक र राष्ट्रिय चुनौतीपूर्ण भएको दाबीलाई गम्भीरतापूर्वक लिन सक्नु अघि धेरै चुनौतीको सामना गर्दछ। यसले सामान्य अवस्थामा राजस्व घाटा भएको आफ्नो शासनको दाबी प्रमाणित गर्न, कृषि नीतिको बुझाइ देखाउन र पञ्जाबीको लागि यो डिल्ली दरबारबाट चलेको होइन भनेर देखाउनु पर्छ। सबै भन्दा माथि, यसले आफ्नो धर्मनिरपेक्ष प्रमाण प्रमाणित गर्न आवश्यक छ र यो देखाउन आवश्यक छ कि यो एक काउन्टर हेजिमोनिक शक्ति हो, न कि बीजेपी द्वारा सृजित आधिपत्य स्थानको एक टुक्राको लागि अर्को दाबीकर्ता।’

‘नेपाल फ्याक्टर’ भारतको आन्तरिक राजनीतिमा नेपालसँग भारतको पाँच वटा राज्यको सीमा जोडिन्छ (उत्तराखण्ड, उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल तथा सिकिम)। जसमा उत्तराखण्डको लोकसभामा पाँच सिट, उत्तरप्रदेशको लोकसभामा ८०, बिहारको लोकसभामा ४०, पश्चिम बंगालको लोकसभामा ४१ तथा सिकिमको लोकसभामा १ सिट छ। यसरी कुल नेपालसँग सीमा जोडिएको राज्यले लोकसभामा १६७ सिट हुन्छ। जुन ३०.७५ प्रतिशत हो। जसमा उत्तरप्रदेश भारतको सबैभन्दा बढी लोकसभाको सिट भएको राज्य पनि हो। अब यही गणितले प्रमाणित गर्छ भारतले वा यि राज्यले नेपालसँग सम्बन्धित नीति बनाउँदा कति सम्वेदनशील हुनुपर्छ भनेर।

यी राज्यका बासिन्दाको नेपालको तराई तथा पहाडमा बस्ने बीच विशेष सम्बन्ध छ । कुनै युपी वा बिहारको नेतालले यो सम्बन्ध भत्काउने दुस्प्रयास गरे उनीहरुको मतमा कमी आउने देखिन्छ। दोस्रो, नेपाल र भारतबीच खुला सीमाले आवतजावत सहज पारेको छ। भारतको तर्फबाट नेपाल भारत सीमामा कडाई, भिषा आदि गराउँदा पनि भारतीय प्रादेशिक नेताको विधान सभा तथा लोकसभामा अवस्था खस्किेन देखिन्छ। कारण यहाँ बस्ने मानिसको दैनिकीमा असर पर्नसक्ने हुनाले हो।

सिक्काको दोस्रो पाटोमा, खुला सीमाले गर्दा आंतकवाद, अपराध इत्यादी कुराहरुको नियन्त्रण गर्न सहज छैन। तर, नेपाल तथा भारत सरकार सीमालाई पुरै खुला अथवा पुरै नियन्त्रण गर्ने अवस्थामा छैन। सामान्य किसिमको चेकजाँच त्यति प्रभावकारी देखिदैन।

त्यसैले नेपालमा भारत मात्र ओजनदार ‘फ्याक्टर’ होइन। यी राज्य तथा भारतको केन्द्रीय राजनीतिमा पनि ‘नेपाल फ्याक्टर’ शक्तिशाली छ।

अन्त्यमा भाजपालाई व्यवहारिक रुपमा हेर्दा उसले पंडित नेहरुको इतिहास विस्थापन गर्न खोज्दैछ। यसको साटो सरदार बल्लभ भाइ पटेल र सुभाष चन्द्र बोसको इतिहासलाई आगाडि ल्याउने प्रयासमा देखिन्छ। यहि सेरेफेरोमा बलिवुडमा ‘द तास्केन्ट फाइल्स’ भन्ने चलचित्र पनि आउँछ। जसमा स्वयंम इन्दिरा गान्धी तथा काँग्रेस ६०, ७० को दशकमा कसरी सोभियत कालीन जासुसी संस्था केजीबीको ‘एजेन्ट’ भएर काम गरेका थिए भने कुराको जिकिर गर्छ । र अहिले ‘द कस्मिर फाइल्स’ नामक चलचित्र आएको छ जस्मा कस्मिरी हिन्दु पंडितहरुले ९० को दशकमा आतंकवादीबाट मारिनु तथा कस्मिर छोडेर भाग्नु परेको कथा बोल्छ। पहिलो सन्दर्भमा काँग्रेसको छविलाई ‘ड्यामेज’ गर्न खोजेको हो कि ? र दोस्रोमा हिन्दुवादी सरकार भएकोले यस्ता चलचित्रले श्रेय पाएका हुन् अथवा निःस्वार्थ तवरबाट कश्मिरी पंडितहरुले भोगेको पीडा भन्न खोजिएको हो। यो बहसको विषय हुनसक्छ।

भाजपाले भारतमा मिडिया, शक्ति तथा विभाजनको राजनीति गरेर जनतालाई ‘डेलिभरि’ दिइरहेको हो वा सन् २०१४ देखि लेखिन थालेको भनिएको भारतको ‘नयाँ इतिहास’ सबै मिथक हुन् ? समयले पक्कै पनि बताउने छ । समय बलवान छ ।