समाचार

प्रेस चौतारीको अध्यक्षमा दोहोरिए बस्नेत, उपाध्यक्षमा पाण्डे

By खबरहब

March 13, 2022

पोखरा – नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् ।

पोखरामा सम्पन्न अधिवेशन अन्तर्गत शनिबार राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्तासहित राति ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका थियो । तर उम्मेदवारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको हो।

संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निष्क्रिय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्ट्याटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टिम घोषणा गरेको भन्दै आपत्ति जनाए ।

घोषित कमिटीको महासचिव हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिए । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ ।

प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बनेका छन् ।

प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अध्यक्षमा चार जनाको दाबी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दाबी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन् ।

ओलीकै रोजाईमा बस्नेत अध्यक्ष  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्‍याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला।’

उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए ।

प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए । तर, मतदाताको मनोभावना विपरीत टिका लगाएर नेतृत्व टुङ्ग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ ।