तस्वीर- एपी

अन्तर्राष्ट्रिय

चीनमा कोरोना सङ्क्रमित बढ्न थाले

By खबरहब

March 13, 2022

काठमाडौं- चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरू बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या १ हजार ८०० भन्दा बढी पुगको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।

सो कमिसनका अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका १ हजार ८०७ जनामध्ये जिलिनमा मात्र १ हजार ४०० भन्दा बढी संक्रमित पाइएको छ । जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन सङ्क्रमितको संख्या बढ्दै गएको पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । त्यहाँका सबैजसो नागरिकलाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरूको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब पाँच हजार जना नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका छन् । (राससबाट)