तस्वीर- डेली मेल

अन्तर्राष्ट्रिय

हिटलरको नरसंहारमा बाँचेकी ९० वर्षीया युक्रेनी शरणार्थी बेलायत पुगिन्

By खबरहब

March 13, 2022

काठमाडौं– हिटलरको अमानवीय नरसंहारबाट समेत बच्न सफल ९० वर्षीया युक्रेनी महिला रुसी आक्रमणबाट बच्न बेलायत पुगेकी छिन् । ९० वर्षीया कटरिना राजुमेन्को रुसी आक्रमणको चपेटामा परेको खार्किभ शहरबाट ज्यान जोगाएर बेलायत पुगेको बेलायतको डेली मेल पत्रिकाले जनाएको छ ।

उनीसँगै उनकी ६२ वर्षे छोरी लार्सा पनि बेलायत पुगेको जनाइएको छ । बेलायत पुग्नु एक साताअघि उनीहरु पोल्याण्ड पुगेको र त्यहाँबाट बेलायतको गृहमन्त्रालयले उनीहरूका लागि भिसा मिलाइदिएको डेली मेलले जनाएको छ । उनीहरु बेलायतमै रहेका उनीहरूका आफन्तसँग बस्नेछन् ।

सन् १९३१ मा जन्मेकी कटरिना तत्कालीन सोभियत संघका तानाशाह जोसेफ स्टालिनको भोकमरीद्वारा युक्रेनीको नरसंहार (होलोडोमर) र दोश्रो विश्वयुद्धका क्रममा सन् १९४१ मा जर्मन तानाशाह एडोल्फ हिटलरको सोभियत संघमाथिको आक्रमणमा पनि बाच्न सफल रहेकी थिइन् ।

यद्यपि रुसले युक्रेनमाथि आक्रमण गरेपछि भने उनी जीवनमै पहिलो पटक शरणार्थी भई विदेश पलायन हुनु परेको जनाइएको छ ।

(डेली मेलबाट)