काठमाडौं– रुसी फौजले पोल्यान्डको सीमानजिक रहेको युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेका छन् । रुसी फौजले पोल्याण्डको सीमानजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा केन्द्र नामक सैनिक केन्द्रमा आक्रमण भएको जनाइएको छ ।
रुसी फौजले त्यहाँ ३० भन्दा धेरै रकेट हमला गरेका थिए । आक्रमणमा ९ जनाको मृत्यु भएको र अरु ५७ जना घाइते भएको लभिभ क्षेत्रका गभर्नर माक्सिम कोजेत्स्कीले जानकारी दिएका छन् । उद्धारकर्ता तथा अग्नि नियन्त्रकहरू त्यहाँ लागेको आगो निभाउन खटिरहेको जनाइएको छ ।
उक्त केन्द्र पोल्यान्डको सीमाभन्दा केबल १० किलोमिटरको दूरीमा छ । २९० वर्गकिलोमिटर क्षेत्रफलमा रहेको उक्त केन्द्रमा १,७९० जनासम्म रहने व्यवस्था रहेको समाचार छ । यद्यपि रुसी आक्रमणका बेला त्यहाँ कति जना थिए भन्नेबारे केही खुलाइएको छैन ।
युक्रेनी तथा युक्रेनका नेटो साझेदार मुलुकका सैनिकलाई तालिम दिने काममा उक्त सैनिक केन्द्र प्रयोगमा रहेको जनाइएको छ । आक्रमणका बेला त्यहाँ अन्तर्राष्ट्रिय सैनिक प्रशिक्षकहरू पनि उपस्थित रहेको युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभले जानकारी दिएका छन् । यद्यपि सबै पीडितहरूको पहिचान भने गोप्य राखिने उनको भनाइ छ । (बीबीसीबाट)