तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

फ्रान्समा सोमबारदेखि कोरोनाविरुद्ध चौथो डोज खोप लगाइने

By खबरहब

March 13, 2022

काठमाडौं- फ्रान्समा कोरोना भाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरूले सोमबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका हुन् ।

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ । शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले वृद्धवृद्धाहरूबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएका छन् ।

प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने वर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उहाँको भनाई थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका मानिसहरूको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ ।

फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

(राससबाट)