खेलकुद

नेपाल र अर्जेन्टिनाबीच फुटबल खेलाउन राजदूतले सहमति जनाए

By खबरहब

April 13, 2022

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री अथक र राजदूत गोवीबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो ।

भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएका थिए ।

मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदूत गोवीमार्फत् अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।