तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो

By खबरहब

April 13, 2022

काठमाडौं– आँधीपछिको बाढी र पहिरोमा परी फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । उद्धारकर्ताहरुले ‘मेगी’ नामक आँधीबाट प्रभावित लेटे प्रान्तको बेबे शहर र आसपासका क्षेत्रमा थप शव फेला पारेसँगै मृतकको संख्या ५८ पुगेको समाचार संस्था एएफपीले जनाएको छ ।

बेबे शहरमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, फिलिपिन्सको मिन्दानाओ टापु र मध्य फिलिपिन्सको नेग्रोस ओरिएन्टल प्रान्तमा ३–३ जनाको मृत्यु भएको त्यहाँको विपद् निकायले जनाएको छ ।

सैनिक, तटरक्षक, प्रहरी, अग्निनियन्त्रक लगायतको टोलीबाट उद्धारकार्य भइरहेको छ । यद्यपि निरन्तर पानी परिरहेकाले उद्धारकार्यमा बाधा उत्पन्न भएको छ ।

‘चुनौति यो छ की, यहाँ निरन्तर पानी परिरहेको छ र हामी तुरुन्तै पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन सक्दैनौँ ।’ फिलिपिनी सेनाका ब्रिगेड कमाण्डर नोएल भेस्तुइरलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

‘हामी मानिसहरूको ज्यान लिने र सम्पत्तिको क्षति गराउने दुर्भाग्यपूर्ण घटनाबाट स्तब्ध भएका छौँ ।’ भेस्तुइरले भने ।

हरेक वर्ष फिलिपिन्समा औसत २० वटा आँधी आउने बताइएको छ ।