मनोरञ्जन

नेपाली फिल्ममा वर्ष २०७८ : लगानी उठाउन नसकेको वर्ष

By प्रदीप कार्की

April 13, 2022

 काठमाडौँ– विक्रम सम्वत् २०७८ साल नेपाली फिल्मका लागि सम्झिन लायक भने रहेन । सुरुवाती महिना वैशाखबाट नै कोरोना भाइरसको दोस्रो लहरका कारण लकडाउन भोगेका फिल्म हलहरू दशैँ नजिक खुले ।

हल खुलेता पनि फिल्म भने थिएन । दर्शकलाई हलसम्म तान्न सक्ने फिल्महरू ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेम गीत ३’, ‘ए मेरो हजुर ४’ रिलिज नहुने भएपछि केही फिल्म रि-रिलिज भए ।

२६ असोज अर्थात् फुलपातिका दिन शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । जसले दर्शकको साथ पाउन सकेन ।

त्यसपछि ‘धूम-४’, ‘ओभरडोज’, ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट-३’ रिलिज भए । त्यसपछि फेरि तेस्रो लहर आयो । हल बन्द भए ।

पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, ‘लप्पन छप्पन २’, ‘आकाशे खेती,’ ‘चिसो एस्ट्रे,’ ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रिलिज भए ।

संख्याको हिसाबले पनि निकै कम १३ नेपाली फिल्म मात्र रिलिज भए । रिलिज भएका फिल्ममा केही चर्चाका हिसाबले अगाडि आए । तर , लगानीका हिसाबले भने घरेलु बजारमा कुनै फिल्म पनि सुरक्षित रहन सकेनन् ।

रिलिज भएका फिल्महरूका लगानी नउठ्नु आफैँमा दु:खद छ । साथै, नेपालमा दर्शकलाई हलसम्म फर्काउन विदेशी फिल्मको सहारा लिनु पर्‍यो । हल खुलेपछि आश गरिएका नेपाली फिल्म रिलिज नहुँदा भारतीय फिल्महरू सूर्यवंशी र पुष्पाले दर्शक हलसम्म आउने संकेत गरे ।

यी भारतीय फिल्मले नेपालमा गरेको बिजनेस थाहा पाएपछि नेपाली निर्माताहरू फिल्म रिलिज गर्न तयार भएका थिए । फलत: ओटीटीको कन्टेनमा रमाइरहेका दर्शकको चाप नेपाली फिल्मका लागि हलमा देखिएन ।

यसैले गर्दा वर्ष २०७८ नेपाली फिल्मको लगानी डुबेको वर्षको रूपमा लेखिने भएको छ । विदेशी बजारमा कोरोना भाइरसको महामारीबाट विस्तारै तंग्रिँदै गरेको हुनाले पनि नेपाली फिल्मका लागि आयोजना गरिने शोहरू हुन सकेनन् ।

रिलिज भएको नेपाली फिल्महरूको लिस्टमा बढी व्यापार गर्नेमा ‘म यस्तो गीत गाउँछु २’ रह्यो । पल शाह, पूजा शर्मालगायतको अभिनय रहेको फिल्मले दर्शकको साथ् पायो ।

सुदर्शन थापा निर्देशित फिल्मले अन्यको तुलनामा बढी व्यापार गरेता पनि लगानी उठाउन भने सकेन । फिल्मको कन्टेनभन्दा पनि पल शाहको कन्ट्रोभर्सीले फिल्म चर्चामा आयो । कन्टेनकै कारण चर्चामा आएको फिल्म ‘चिसो एष्ट्रे’ ले पनि व्यावसायिक रुपमा कुनै कमाल देखाउन सकेन । फिल्म रिलिज अगाडि र प्रिमियरमा पाएको प्रतिक्रियाले दर्शकलाई हलसम्म ल्याउन सकेन ।

फिल्मको विषयवस्तु, कथ्य शैली, दृश्य भाषाको चर्चा भयो । त्यसमा रहेका कलाकारहरू दिव्य देव, सुशील राज पाण्डे, नविन लम्साल, निकुन श्रेष्ठको अभिनयले पनि तारिफ बटुले । तर, निर्माताले पाएको रकमको निकै न्यून छ । फिल्ममा गरिएको लगानीको ५ प्रतिशत पनि हलबाट पैसा निर्माताले नपाउने फिल्मकै एक सदस्यले बताए ।

यद्यपि वर्ष २०७८ लाई सम्झिने फिल्म भने ‘चिसो एष्ट्रे’ नै हुनेछ । नेपाली उपन्यास, कथा, नाटकमा आधारित भएर फिल्म बने पनि कवितामा आधारित भएर बनेको यो पहिलो पल्ट हो । तर, यो फिल्मको चर्चा मिडियामै सिमित रह्यो सिमित रहयो । दर्शकलाई हलसम्म ल्याउन सकेन । यस्तै, कठपुतली मार्फत दर्शकले हरर फिल्मको स्वाद चाखे । नेपालमा हरर फिल्म रुचाउने दर्शक छन् भन्ने तथ्यलाई अघिल्ला फिल्मले नै प्रस्ट्याईसकेका थिए । यसमा पनि दर्शक आए । तर, त्यो संख्या कम भयो ।

त्यसैले यो फिल्म पनि चर्चा पाए जस्तो बक्स अफिसमा बलियो देखिएन । फिल्मले दर्शकको संख्या थप्न सकेन । हलिउड हरर फिल्म रुचाउने दर्शकलाई हलसम्म ल्याउन नसक्दा फिल्मले लगानी उठाउन सकेन । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चपली हाइट ३’ पनि असफल रहयो ।

चर्चामा रहेको फिल्मका अघिल्ला सिरिजहरूले लगानी मात्र उठाएका थिएनन् । निर्मातालाई मुनाफा पनि दिलाउन सफल थिए । यद्दपी यो पटक तेस्रो शृंखलालाई फिल्मले ‘फ्लप’ को ट्याग पायो । निकेश खड्का निर्देशित फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका थिए ।

फिल्मले समीक्षा ठिकै पायो । मिश्रित समीक्षामा पनि अधिकाँसले ‘हेर्न सकिने फिल्म’ भनेका थिए । तर , दर्शकले हेरेनन् । वर्षमा रिलिज भएका सम्पूर्ण फिल्मको लगानी डुब्नु सुखद पक्ष त होइन । तर , अझै समस्या टरेको छैन । आउँदो वर्ष जटिल छ नै । विश्वव्यापी कोरोना भाइरसको महामारीले रोकिएका फिल्महरु रिलिज हुँदैछन् । ती फिल्महरूसँग अडिनु सहज छैन ।

ओटीटी प्रदायक मार्फत विश्वका कन्टेनसँग साक्षात्कार गरेर चेतनाको स्तर बढाएका दर्शक पाउन अब ‘कन्टेन’ मै मेहनत गर्नु पर्ने दबाब नेपाली मेकर्सलाई पनि छ । किनकी छिमेकी मुलुक भारतको बलिउडमा पनि कोरोना भाइरसको महामारी पश्चात रिलिज भएका अधिकाँस फिल्महरू असफल छन् ।

त्यहाँ ओटीटी प्रदायकको कारण घाटा कम गर्ने मार्ग छन् । नेपालमा त हलकै भर पर्नुपर्ने अवस्था छ ।

यद्यपि, वर्ष २०७९ को पहिलो दिन वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ बाट आश गर्न सकिन्छ ।

अन्य फिल्महरू पनि छन्, जसले दर्शकलाई हलसम्म ल्याउने तयारी गरिरहेका छन् ।

कबड्डी ४, पानीफोटो, प्रकाश, महापुरुष, छक्का पञ्जा ४ लगायतका फिल्मबाट दर्शकसँगै फिल्मकर्मीहरू पनि आशावादी छन् ।

आश गरौँ यी फिल्महरूसँगै अन्य फिल्महरूले पनि नेपाली दर्शकलाई नेपाली फिल्मकै लागि हलसम्म ल्याउने छन् ।