फाइल तस्वीर- द गार्जियन

अन्तर्राष्ट्रिय

ईश्वरको निन्दा गरेको भन्दै नाइजेरियामा छात्रालाई कुटपिट गरी जलाइयो

By खबरहब

May 13, 2022

काठमाडौं- अफ्रिकी मुलुक नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । ह्वाट्सएपमा ईश्वरको निन्दा गरेको भन्दै साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोतोमा उक्त घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् ।

मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणका अनुसार विभिन्न मानव अधिकारवादी संस्था तथा व्यक्तित्वहरूले हत्याको निन्दा गरेका छन् ।

‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा व्हाट्सएप समूहमा उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरेकी थिइन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन्’, एक प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ ।

विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।