तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

को हुन् श्रीलंकाका नयाँ  प्रधानमन्त्री रणिल विक्रमासिंघे ?

By खबरहब

May 13, 2022

काठमाडौं- वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । 

सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कमब्याक भएको छ ।

विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् ।

भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सका अनुसार उनले यसअघि ५ पटक श्रीलंकाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रणसिंघे प्रेमादासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्रीका रूपमा पनि निर्वाचित भएका थिए ।

तर, चन्द्रिका कुमारतुंगाले मध्यावधि निर्वाचन आह्वान गरेपछि सन् २००४ मा उनी सत्ताच्युत भएका थिए । 

प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा उनले लिबरेसन टाइगर्स अफ तमिल इलम (एलआइटीटीई) सँग शान्ति वार्ता सुरु गरेर सत्ता साझेदारी सम्झौताको प्रस्तावसमेत गरेका थिए । 

नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले आफ्नो कार्यकालमा भारतसँग घनिष्ट सम्बन्धको अपेक्षा गरेको बताउँदै आर्थिक संकटको सामना गर्न भारतले गरेको आर्थिक सहयोगका लागि धन्यवाद दिएका छन् । 

विक्रमासिंघेले बिहीबार देशको २६औँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए । कोलम्बोस्थित भारतीय उच्चायोगले विक्रमासिंघेलाई  स्वागत गर्दै राजनीतिक स्थायित्वको आशा राखेको र प्रजातान्त्रिक प्रक्रियाअनुसार बनेको श्रीलंका सरकारसँग काम गर्न तत्पर रहेको  जनाएको छ ।

‘श्रीलंकाका जनताप्रति भारतको प्रतिबद्धता जारी रहनेछ’ उच्चायोगले ट्वीटमा भन्यो ।