तस्वीर- शाही थाइ प्रहरी

अन्तर्राष्ट्रिय

दक्षिणपूर्वी एसियामा चिनियाँ आपराधिक गिरोहको सक्रियता बढ्दै

By खबरहब

May 13, 2022

काठमाडौं– दक्षिणपूर्वी एसियामा सक्रिय चिनियाँ आपराधिक गिरोह कानून कार्यान्वयन निकायहरुका लागि चुनौतिको रुपमा देखा पर्दै गएको छ ।

म्यान्मारबाट प्रकाशित हुने द इरावादी अखबारका अनुसार कम्बोडिया र थाइल्याण्डको सीमा क्षेत्रमा चिनियाँ आपराधिक गिरोह सक्रिय छन् । उनीहरु सुरक्षा निकायका लागि प्रमुख चुनौति बन्न थालेको उक्त अखबारले उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीका बेलादेखि सो क्षेत्रमा चिनियाँ आपराधिक गिरोहको सक्रियता बढेको बताइएको छ । गिरोहले बेरोजगारीका कारण आर्थिक रुपमा जोखिममा रहेका युवाहरुलाई आपराधिक घटनाका लागि प्रयोग गर्दै आएको समेत द इरावादीले जनाएको छ ।

पछिल्लो समय दक्षिण पूर्वी एसियामा चीनले लगानीलाई बढाएपछि सो क्षेत्रमा चिनियाँ आपराधिक गिरोह पनि सक्रिय बन्न थालेको बताइएको छ ।

गत अप्रिल १० र ११ मा थाइ तथा कम्बोडियन प्रहरीले सुरक्षा कारवाही गरी कम्बोडियाबाट चिनियाँ गिरोहको नियन्त्रणमा रहेका ६८ जना थाइ कामदारलाई उद्धार गरेका थिए ।