फाइल तस्वीर

अन्तर्राष्ट्रिय

देश छाडी भागेका श्रीलङ्काली पूर्व राष्ट्रपति मालदिभ्सबाट सिंगापुर जाने

By खबरहब

July 13, 2022

काठमाडौँ- श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर जाने भएका छन् ।

बुधबार सबेरै राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले पुगेका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती नै सिङ्गापुर प्रस्थान गर्ने भएका हुन् । आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन् ।

यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा बाटोमै अवरोध गरेर फर्काइएको थियो ।

तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्विकृतीमा माल्दीभ्स लगिदिएको श्रीलङ्काको सेनाले जनाएको छ । सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।

राजापाक्षसँगै उनकी श्रीमती र दुई अङ्ग रक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।

उनीहरु चारै जनालाई श्रीलङ्काको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तरराष्ट्रिय विमानस्थल माले लगिएको थियो ।

राजापाक्षले देश छाडेको खवरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलङ्कामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका हुन् ।

सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्‌र्यु पनि लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ ।

विक्रमासिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

तर श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गरेका छन् । प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाइ छ ।

प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उनको तर्क छ ।

प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेवारी पाए झै काम गर्नु संविधानको दुरुपयोग भएको उनले दाबी गरे ।