समाचार

नागरिकतासम्बन्धी नयाँ विधेयक संसदमा, सरकारको बेरुजु झण्डै ५ खर्ब

By खबरहब

July 13, 2022

काठमाडौँ–  आज दिनभर नेपालमा सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो‌‌, नागरिकता विधेयक संसदमा पेश, ३६ जना डीएसपीको सरुवा सिफारिस लगायतका समाचारले मुख्य स्थान पाए । यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

नागरिकतासम्बन्धी नयाँ विधेयक पेश

सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेश गरेका हुन् ।

त्यसअघि बैठकमा सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि एमालेका सांसद भीम बहादुर रावल, शेर बहादुर तामाङ र नेमकिपाका सांसद प्रेम सुवालले बिरोधका सूचना प्रस्तुत गरेका थिए ।

सो क्रममा रावलले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाए ।

यसअघिको विधेयकमाथि लामो समय छलफल भइसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु उचित नभएको उनले बताए ।

त्यस्तै एमालेकै अर्का सांसद शेर बहादुर तामाङले नयाँ विधेयक बिधेयकमा भएको कतिपय विषयहरुप्रति आपत्ति जनाए ।

नेमकिपाका सांसद सुवालले राष्ट्रिय हित विपरीत नागरिकता विधेयकलाई अघि बढाउन नहुने बताएका थिए ।

बैठकले तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत गरेको थियो । बैठकमा विधेयकमाथि जानकारी दिदै गृहमन्त्री खाँणले संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको दावी गरे ।

यसअघिको विधेयकमाथि सहमति जुटेका विषयलाई समावेश गर्दै नागरिकताविहीनहरुको समस्या समाधान गर्न विधेयक ल्याइएको उनको भनाइ छ । उनले यसअघिको विधेयकलाई नै सहमति गर्ने प्रयास भए पनि त्यसो हुन नसकेकाले फिर्ता गर्नुपरेको बताए ।

प्रतिनिधिसभा बैठकमा पेश भएसँगै थप प्रक्रियाका लागि नयाँ नागरिकता विधेयक अघि बढेको छ ।

सर्वोच्चको पूर्ण बैठकको निर्णय

नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम १३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

सर्वोच्चको आज बसेको पूर्ण बैठकले लामो समयदेखि कानुन व्यवसायमा सक्रिय व्यक्तिलाई सर्वोच्चले वरिष्ठ उपाधि प्रदान गर्न लागेको हो ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार लामो समयदेखि रोकिएको वरिष्ठ उपाधि यस पटक प्रदान गरिएको हो । वरिष्ठ उपाधि रोकेका ,काले अनुभवी र ज्येष्ठ अधिवक्ताले पनि वरिष्ठ उपाधि पाउन सकेका थिएनन् ।

वरिष्ठ उपाधि पाउनेमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललगायत रहेका छन् ।

३६ जना डीएसपीको सरुवा सिफारिस

प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको आज बसेको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल रहेका छन् । यस्तै सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्लिसना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नेत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा गरेका छन् ।

त्यसैगरी हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा सहित अन्य ३६ जना बढुवा सिफारिसमा परेका छन् ।

सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो

आर्थिक वर्ष २०७७/७८ सम्म सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को ५९आँै वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागत लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु करीब ५ खर्ब देखिएको हो ।

यस आर्थिक वर्ष मात्रै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरुजु देखिएको महालेखा परीक्षक टङ्कमणि शर्माले बताए ।

संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको उनले बताए ।

प्रदेश अन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको शर्माले बताए । साथै उनले देशभरका ४ सय ४८ समिति तथा अरु संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखा परीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको समेत बताए ।

उनले ५ हजार ७ सय ५७ निकायको लेखा परीक्षण गर्दा ७५ खर्ब ३३ अर्व ९ करोड रुपैयाँको लेखा परीक्षण गरिएको बताए । महालेखा परीक्षकको कार्यालयले २६ संस्थानले २०७७/७८ को लेखापरीक्षण नगराएको जनाएको छ ।

जसमध्ये विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीले ५ वर्षदेखि, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत ३ वर्षदेखि लेखा परीक्षण नगराएको कार्यालयले जनाएको छ । लेखा परीक्षणका क्रममा कानुन अनुसार पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी ठहर भएको कारोबारलाई बेरुजु भनिन्छ ।

मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अगाडि बढाउनुपर्छः झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

काठमाडौँमा आज आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढंगले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताएका हुन् ।

उनले संविधान अनुसार नै मुलकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताए ।

मुलुकमा लोकतान्त्रिक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ ।

वर्तमान सरकार पूरै असफल भइसक्योः पद्मा अर्याल

नेकपा (एमाले) की सचिव पद्यमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको बताएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले एक वर्षको बीचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पूरै असफल भएको बताएकी हुन् ।

उनले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दाबी गरिन् । त्यस्तै उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाइन् ।

मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गइरहेको पनि टिप्पणी गर्दै उनले विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राखिन् ।

सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उनले दाबी गरिन् ।

अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरुको पनि एजेन्डा भएको बताइन् ।

स्थानीय तहको निर्वाचनमा राज्यबाट मानव अधिकार हननका घटना भएका छन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्य पक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन् ।

मानवअधिकार एलायन्सले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको दाबी गरेका हुन् ।

विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनले जिकिर गरे । ओलीले रेडक्रसमा अदालतको आदेश विपरीत प्रहरी पठाएर तमाशा गर्न खोजेको र डेमोक्रेशी र कानूनी राज्यको उपहास गरेको तर्क गरे ।

अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाइँ मानवअधिकारका लागि नै भएको र कहिल्यै पनि मानवअधिकारको उलङ्घन नगर्ने स्पष्ट पारे ।

उनले मानवअधिकार जागीर नभएको र यो नितान्त आदर्श र निष्ठासँग जोडिएको बिषय भएको बताए ।

सरकारमा सहभागी मन्त्रीहरुले सदस्यले उठाएका प्रश्नको जवाफ दिने

नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

केन्द्रीय सदस्यहरुले सरकारको कामकारवाहीको विषयमा पनि प्रश्न उठाएपछि भोलिको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको नेताहरुले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको जानकारी दिए ।

भोलि नै पदाधिकारीले पनि आफ्नो धारणा राख्नेछन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक भोलि समापन हुने सम्भावना रहेको बताए । सोमबार देखि शुरु भएको बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए ।

त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध होटल होटलमा गुटबन्दी गरेको भन्दै प्रतिवाद गरेको थियो ।

सरकारको वार्षिक कामको विवरण सार्वजनिक

सरकारले एक वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले आज ४२ उपलब्धि सार्वजनिक गरेको हो ।सरकारको उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएको छ ।

दुईपटक संसद विघटनलाई बदर गरेको सर्वोच्च अदालतको परमादेशमा देउवा २०७८, असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

देउवाले केपी ओलीलाई विस्थापन गर्दै सत्ता सम्हालेको आज एक वर्ष पुगेको हो ।

विवरणमा समयमै स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, नागरिकलाई कोभिड १९ प्रकोपबाट जोगाउन खोपलाई प्राथमिकतामा राखेको, खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल भएको, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको लगायतको विषय उल्लेख गरिएको छ ।

गभर्नरमाथि छानबिनको माग

नेकपा माओवादी केन्द्रले राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरेको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले मुलुकको गभर्नर कुनै पार्टीको विभागको सदस्य हुनु नपाउने व्यवस्था रहेको भन्दै सो विषयमा छानविन हुनुपर्ने बताएकी हुन् ।

यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन , नहुने व्यवस्थाको उल्लङ्घन भएको उनले टिप्पणी गरिन् ।

सांसद शर्माले छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरिन् । उनले मुलुकको अर्थतन्त्रलाई नियोजित ढंगले नै बिगार्न खोजिएको पनि बताइन् ।

त्यस्तै विशेष समयमा कांग्रेसका सांसद मीन विश्वकर्माले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति जनाए ।

रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटका लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको र यो बन्द हुनुपर्ने उनको भनाइ छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रविना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको आरोप लगाए । उनले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता पुष्टि गरि सदनलाई जानकारी गराउन माग गरे ।

यस्तै उनले हतियार खरिदका लागि दुई दिनमा एलसी खोल्नका लागि दबाब दिइएको भन्दै आपत्ति जनाए ।

त्यस्तै बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले ल्याउन खोजेको भन्दै तत्काल फिर्ता लिन माग गरेकी छिन् ।

यता नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ तथा योजना विभागमा नरहेको स्पस्ट पारेका छन् ।

विभागका प्रमुखसमेत रहेका भुसालले सामाजिक सञ्जालमार्फत पार्टीको कमिटी र विभागमा गभर्नरलगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक स्पष्ट पारेका हुन् । प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रवार निर्वाचन हुने

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा यही असार ३१ गते शुक्रबार हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।

नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका हुन् ।

सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि भोलि दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, साढे १ बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने र शुक्रबार दिउँसो ३ बजे सभाको बैठकमा निर्वाचन हुने जनाइएको छ ।

यसैबीच सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

स्रोतका अनुसार कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनबाट उम्मेदवार बनाउने निश्चित भइसकेको छ ।

मनाइयो भानुजयन्ति

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

भानुभक्त जयन्तीका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन् ।

प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति

गङ्गाप्रसाद उप्रेती लगायतले भानुको प्रतिमामा माल्यार्पण गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे ।

भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुयाएको उनले बताए ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपालीभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८२ पीसीआर परीक्षणका क्रममा १ सय ७७ जना र १ हजार ९३ एन्टीजेन परीक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ४५ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा लागेको आगो नियन्त्रणमा

काठमाडाँैको भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

करीब दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर आगो निभाउने प्रयास गरेको थियो ।

दमकल, प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागी के कारणले भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

विश्व बैंकबाट करीब १० अर्ब रुपैयाँ ऋण लिने सम्झौता

नेपालले विश्व बैंकबाट ८ करोड डलर (करिब १० अर्ब रुपैयाँ) ऋण लिने सम्झौता गरेको छ ।

खानेपानी र सरसफाइमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा सहयोगका लागि गरिएको सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र विश्व बैंकको मल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई पानीको सुनिश्चित गर्न सो आर्थिक सहयोग परिचालन गरिने अर्थ मन्त्रालयका सचिव मरासिनीले बताए । आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ ।

यस आयोजनाले दुई प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाई सेवाहरू दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मद्दत गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

शेयर बजार परिसूचक नेप्से उकालो

शेयर बजार परिसूचक नेप्से आज पनि उकालो लागेको छ ।

नेप्से आज ५९ दशमलव ५४ अंकले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको हो सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ ।

बजारसँगै आज कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार १सय २६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ३ हजार ७ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर १० प्रतिशतले तथा सीईडीबी हाइड्रो विकास कम्पनी, कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, ग्रिन लाइफ हाइड्रो र लक्ष्मी लघुवित्तको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

राखेपका ९ जना बोर्ड सदस्य पदमुक्त

उच्च अदालत पाटनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई सदर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बाहालीको मागसहित दायर गरेको रिट आज खारेज गर्ने निर्णय गरेको हो ।

साथै अदालतको अवहेलना हुने गरी सरकारले निर्णय गरेको भन्दै दायर अर्को रिटमा अदालतले दाबी नपुग्ने फैसला पनि सुनाएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते तत्कालीन ओली सरकारको पालामा नियुक्त गरिएका ९ जना राखेपका बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । तीमध्ये रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर ८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उच्च अदालतले गत १० मंसिरमै प्रारम्भिक सुनुवाइपछि पदमुक्त गर्ने निर्णय लागू नगर्न युवा तथा खेलकुद मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेशपछि पुनर्बहाली भएका ती सदस्यलाई गत वैशाख ९ गते बसेको राखेप बोर्ड बैठकमा आमन्त्रण गरिएको थिएन ।

आफूहरुलाई बोर्ड बैठकमा आमन्त्रण नगरिएको भन्दै उनीहरुले गत वैशाख २५ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

आजको इजलासले दावी नपुगेको भन्दै सो रिट पनि खारेज गरिदिएको छ ।