अन्तर्वार्ता

क्लासिकल र वजनदार गीत सिर्जना गर्न मन छ

By सेसेमी लिम्बु

August 13, 2022

काठमाडौँ : मुम्बईबाट संगीत सिकेर पनि नेपाली गीत संगीतमा दुई दशक बिताएका कुशल संगीतकार हुन्, सचिन गिरी । भारतको मुम्बईमा लामो समय संघर्ष र सिकाई गरेर स्वदेश फर्किएका उनी पछिल्लो समय फेरि नेपाली संगीतमा सक्रिय भएका छन् । मुम्बई, काठमाडौँमा लामो संगीत बसाई गरेका उनी यसबीचमा केही समय ब्रेक लिएर पनि बसे । पारिवारिक कारण केही समय संगीतबाट पर बसेर फेरि नजिकिएका गायक तथा संगीतकार गिरीसँग खबरहबका लागि सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंशः

पाँच वर्षपछि नेपाली संगीतमा पुनरागमन गर्दै हुनुहुन्छ, किन यसरी संगीतबाट टाढिनु परेको थियो ? बुवा बिरामी हुनु भएकोले म सबै कुरा छोडेर पाँच वर्ष अगाडि गाउँ फर्केको थिएँ । अब भने त्यँहाको सबै काम सकाएर काठमाडौँ फर्केको छु । त्यो भन्दा अगाडि काठमाडौँमा मेरो स्टुडियोमा कामहरु गरिरहेको थिएँ । केहि नयाँ कामहरु लिएर अब चाडै आउने योजना बनाएको छु ।

तपाईको सांगितिक यात्राको सुरुवात कसरी भएको थियो ? आज भन्दा दुइ दशक अघि जब मेरो सांगितिक यात्राको सुरुवाती भयो । ती दिनहरुमा शैक्षिक अध्ययनको लागि काठमाडौँ आएको थिएँ । त्यतिबेला साथिहरुसँग ‘तरेली’ एल्बम पनि सार्वजनिक गरेको थिएँ । पछि म पढाइको शिलशिलामा मुम्बईतर्फ लागे । त्यँहा मेरो पढाई सकाएर फेरि मैले ’ड्रिम्स कम्स ट्र’ नामको एल्बम सार्वजानिक गरेँ । त्यसमा मेरो एक दुई वटा मात्र संगीत रहेको छ । वास्तवमा मेरो म्युजिक कम्पोज त्यँहाबाट सुरु भएको थियो । त्यति बेला काठमाडौँमा एउटा कोठा लिएर बस्ने गर्थे । एकदम लोड्सेडिङ हुन्थ्यो । बत्ती गएर अन्धकार हुने भएपनि म आनन्दसङ्गले अगाडिको भागमा सिनेमा हेरेझै म्युजिक कम्पोजको काम गर्थे । आफुलाई कस्तो पात्रको आवश्यकता छ, त्यस्तै म चाहे पहाड, हिमाल वा तराइको फाटमा वा घोडाहरु हिडिरहेको बेलाको समयलाइ कल्पना गरेर मेरो दिमागमा संगीतको चित्रण हुन्थ्यो । त्यसपछि संगीतसँग ट्यÞूनिङ बढ्दै गयो ।

मुम्बई कसरी पुग्नुभयो ? संगीत सिकाई कस्तो रह्यो ? म गाउँबाट जनकपुर जाने क्रममा मेरो एकजना साथी हुनुहुन्थ्यो । जो मुम्बई अध्यनको लागि जानु भएको थियो । सुरुमा उहाँसङ भेट भएको थियो । उँहाले मुम्बईमा आउन सल्लाह दिनु भयो । तर मुम्बईमा मेरो कसैसँग चिनजान नभएको हुनाले हुनाले साथीले केहि व्यवस्थापन गर्ने सहयोगका साथ म १९ वर्षको उमेरमा पहिलोपटक मुम्बई पुगेको थिएँ । केहि हप्ता म साथीहरुसँगै होटेलमा बसँे । तर केहि समयपछि होस्टेलमा बस्न अलि उपयुक्त हुन छोडदै गएपछि म आफु बस्नको लागि मेरो सानी आमाको छोरासँग बस्न पुगे । त्यहाँ मैले धेरै नेपालीहरु काम गर्नको लागि बस्नु भएको देखेँ । त्यसपछि नेपालबाट आर्टिस्टहरु ल्याएर मुम्बईमा एउटा कार्यक्रम सञ्चालन गर्ने विचार आयो । म जुन काममा लाग्छु, त्यो चाहे घाटामा गए पनि जाओस् । तर पुरा गरेरै छोड्ने बानी भएकोले जसरि हुन्छ, मैले कार्यक्रम गर्ने व्यवस्थापन मिलाउन थाले । नेपालमा आएर मैले कार्यक्रमको रिहर्सल गरेर मैले ९ जनाको टिमलाइ तयार गरे । जुन ठाउँमा मैले कार्यक्रम गर्ने निधो गरेको थिएँ । त्यहाँको मान्छेहरुलाइ मेरो उमेर सानो भएको हुनाले काम गर्छ जस्तो विश्वास लागिसकेको रहेनछ । त्यसैले उहाँहरुले टिकेट बिक्रिमा हेलचेक्राई गरिदिनु भएको रहेछ । तर पनि मैले कार्यक्रम सफलता पूर्वक सकाएँ । सँगसँगै संगीत सिक्ने काम भइरहेको थियो । अनि चार वर्षको अध्ययन सकेर म काठमाडौँ फर्किए ।

नेपालमा फर्केपछि सांगितिक माहोल कस्तो पाउनुभयो ? निर्देशक नारायण पुरीसँग काम गर्न म उहाँसँग आबद्ध भए । उहाँसँग म फिल्म सेटमा पनि पुग्ने गर्थे । उहाँले मलाइ हिरोको साथीको रुपमा पनि भूमिका निर्वाह गर्न लगाउनु भयो । म जुन काम गर्नलाई हिडेको थिएँ । त्यो भन्दा फरक भुमिकामा आफुलाई पाउँदा छक्क पनि परे । पछि फेरि एउटा फिल्मको शिलशिलामा कामको कुरा गर्नलाई फिल्म सेट पुगे । तर कति कुराहरु काम भन्दा कुरामा मात्र सीमित हुन थालेपछि मलाई दिक्क लाग्न थाल्यो । त्यसपछि आफैँ गीतहरु कम्पोज गर्दै राख्न थाले । त्यसपछि गणेश सुवेदीमार्फत ओम प्रतिकले निर्माण गर्न लागेको सिरियलमा एउटा गित दिएर त्यसको कम्पोज गर्न लगाउनु भयो । मेरो कम्पोजिसन मन पराउनु पनि भयो । तर त्यो सिरियल कुनै कारणबस निरन्तरता पुर्वक प्रसारण नभएपछि मेरो सिर्जना पनि सार्वजनिक हुन सकेन ।

यो लामो समयको अन्तरालपछि गीत संगीतमा आएको परिवर्तनसँग मेल खान कस्तो अध्ययन गरिरहनु भएको छ ? अहिले युवारुले कस्तो गीत सुन्न रुचाइरहनु भएको छ भन्ने अध्ययन गरिरहँदा सरल संगीतमा कविता वाचन गरे जस्तो कुनै कथा प्रस्तुत गरे जस्तो पाए । म विभिन्न किसिमका कन्सेप्टमा काम गरिरहेको छु । अध्यनको क्रम जारी नै छ ।

अहिलेको समय जस्तै आफुलाई परिमार्जन गर्न कतिको चुनौती अनुभूति गर्नु हुन्छ? चुनौती त एकदम धेरै छ । कतिपयले मलाइ आफ्नो एउटा युट्युब च्यानल खोल्नु भनेर सुझाव दिनु भएको छ । म आफै कम्पोज गर्ने भएकोले एउटा वेबसाइटमा आफ्नो सिर्जनाहरु हालेर प्रतिक्रिया कस्तो आउने रहेछ भन्ने विचार पनि गरिरहेको छु । तर एउटा निर्णयमा पुग्न अझै बाँकी छ । म अझै कुराहरु बुझ्ने प्रयास गर्दै छु ।

कस्तो गित सिर्जना गर्नु पर्छ जस्तो लाग्छ ? नयाँ ट्रेन्डमा चलेका गीतहरु मैले एकजना दाइसङ्ग बसेर पनि सुने । सुन्दै गएपछी मलाई राम्रो लाग्दै गयो । पक्कै पनि जुनै गित पनि सुन्दै गएपछी त्यसको शब्दहरु याद हुँदै जाने क्रममा राम्रो लाग्दै जान्छ । तर म इन्डियन संगीतसँग अलि बढि आत्मिय रहेको हुनाले अहिले ट्रेन्ड भन्दा पनि क्लासिकल र अलि वजनदार गीतहरु सिर्जना गर्न मन छ । मलाइ व्यक्तिगत रुपमा पनि त्यस्तो किसिमको गीतहरु मात्र गर्न पाए हुन्छ जस्तो लाग्छ । बजारलाई पनि नियाल्दै गर्दा कसैले यो किसिमको संगीत गर्न लगाउनु हुन्छ भने म अवश्य पनि त्यस्तो काम गर्छु ।

संगीतमा कत्तिको दीर्घकालीन रुपमा भविष्य बनाउन सकिन्छ जस्तो लाग्छ ? मलाइ संगीतमै दीर्घकालीन समयसम्म रहन सक्छु भन्ने विश्वास छ । किनभने सबैको सांगितिक यात्रामा उसको परिचय एउटा कामले दिने गर्छ । जब एउटा काम सर्वाधिक रुपमा परिचित हुन्छ । त्यसपछि त्यो सर्जकले पछाडी फर्केर हेर्नै पर्दैन । मेरो एउटा गित ‘दिन आउँछ जसको पनि आज सम्झेर रुनु हुदैन’ बोलको गीत मसँग एकदम आत्मिय रहेको छ । यो गीतको शब्द यति मन परेको थियो । मलाइ रातभरी निन्द्रा नै लागेन । घरमा पाहुना हुँदाहुँदै पनि मैले यो शब्दलाई खेलाएर राती २ बजे एउटा धुन सिर्जना गरे । जुन गितले गर्दा अहिले पनि म संगीतमा केही गर्न सक्छु भन्ने हौसला प्रदान गरिरहेको छ ।