मुख्य समाचार

बिहान १० बजेसम्मका मुख्य १० समाचार

By खबरहब

September 13, 2022

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना र चिनियाँ सभामुख लीबीच भेटवार्ता

चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ । चिनियाँ सभामुख ली  र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान भेटवार्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो । अध्यक्ष लीले आज दिउँसो  प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  अध्यक्ष लीले आज नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम  रहेको छ । यस्तै आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोल्टी होटेलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, भोलि  अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन् । यसैबीच राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ । ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन्। चार दिने भ्रमणका क्रममा ली विशेष विमानबाट  हिजो  अपराह्न काठमाडौं आइपुगेका हुन्। ली र सभामुख अग्निप्रसाद सापकोटा हिजो साँझ भएको वार्तामा नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न ६ बुँदे समझदारी  पत्रमा हस्ताक्षर  भएको  थियो ।

२. मन्त्री यादव सेनेगल प्रस्थान

वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्री स्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान गरेका छन्। उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको बताइएको छ ।

३. सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दै

सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ । निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरु आज दिउँसो ३ बजे  छलफलमा जुट्ने भएका हुन् । कार्यदलसहित शीर्ष नेताहरुको हिजो बसेको  बैठकमा सिट बाँडफाँटमा विषयमा विभिन्न तहमा छलफल भए पनि  सहमति जुट्न सकेन। कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ । आसन्न निर्वाचनका लागि कांग्रेसले एक सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ । असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूची बुझाउने निर्वाचन कार्यतालिका रहेकाले,सत्ता गठबन्धनका दलहरु सिट बाँडफाँट टुंगो लगाउने गरी निरन्तर छलफलमा  जुटिरहेका छन् ।

४. जबरासँग आजै बयान सक्ने सिफारिस समितिको तयारी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले आज बयान सक्ने  तयारी गरेको छ । समितिले जबरालाई बयानका लागि आज दिउँसो १ बजे बोलाएको छ । यद्यपि समितिको बैठक भने  आज बिहान ११ बजे बोलाइएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । बयानका क्रममा जबराले आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलहरुले न्यायपालिकालाई ध्वस्त पार्न खोजिएको आरोप  लगाएका छन् । उनले  दलहरुलाई साथमा लिएर प्रधानन्यायाधीश हुने स्वार्थका कारण आफूलाई महाभियोग लगाइएको जिकिर गर्दै आफूविरुद्धको महाअभियोगको औचित्य नै नभएको बताउँदै आएका छन् । सिफारिस समितिले जबरासँग  हालसम्म ४३ मध्ये ३५ वटा प्रश्नको जवाफ लिएको छ । जबराविरुद्ध ४३ वटा उजुरी परेका छन् ।  गत भदौ १५ गतेबाट जबरासँग बयान लिन सुरु गरेको थियो । गत फागुन १ गते  जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेका थिए ।

५. परराष्ट्र सचिव पौड्याल भारत जाँदै परराष्ट्र सचिव भरतराज पौड्याल आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पौड्याल आज अपराह्न नेपाल एयरलाइन्सको विमानमार्फत भारत जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जनाकारी  दिइन् ।  नेपालबाट करिब एक दशकपछि भारतमा परराष्ट्र सचिवस्तरीय औपचारिक भ्रमण हुन लागेको हो । परराष्ट्र सचिव  नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भारत महाशाखा हेर्ने सहसचिव सुधीर भट्टराईलगायत  सहभागी हुनेछन् । भारतीय प्रतिनिधिमण्डलमा विदेश सचिव क्वात्रा, नेपालका लागि राजदूत नवीन श्रीवास्तव, लगायतको उपस्थिति रहेनछ । भारत भ्रमणका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री क्वात्राबीच नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सांस्कृतिक, कनेक्टिभिटी, सुरक्षा, व्यापारका बिषयमा विस्तृतमा छलफल हुने जनाएको छ ।  परराष्ट्र सचिव पौड्यालले भोलि भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग शिष्टाचार भेटवार्ता  गर्ने कार्यक्रम छ । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम  रहेको छ ।

६. फिदिम–काबेली खण्ड अवरुद्ध  वर्षासँगै  पहिरो  खसेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–काबेली खण्ड अवरुद्ध भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–२ मा माथिबाट ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट फिदिम हुँदै तराईसम्म पुग्ने र फिदिमसहित विभिन्न ठाउँबाट ताप्लेजुङका लागि छुटेका गाडी बाटोमै रोकिएका छन् ।सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोले अन्य क्षति नगरे पनि सडक पूर्ण रूपले अवरुद्ध भएको छ ।

७. च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी  दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर  खाँदा  उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ । तुलसीपुर–१६ ललौराका ३४ वर्षीय विनोद चौधरी, ३४ वर्षीया वसन्ता चौधरी, १६ वर्षीया कोपिला चौधरी, १२ वर्षीया प्रभा चौधरी र ५५ वर्षीय माघे चौधरी बिरामी परेका छन् । उनीहरूलाई थप  उपचारका लागि बाँकेको नेपालगन्ज लगिएको छ ।

८. राष्ट्रिय वाणिज्य बैङ्क द्धारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि  आज एक सुचना प्रकाशित गर्दै बैंकले आवेदन आह्वान गरेको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको  छ । बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदकले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिने  छ । यस्तै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  आज एक सुचना प्रकाशन गदै  आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा  भनिएको छ । अध्यक्षको कार्यअवधि वधी तीन वर्षको हुनेछ ।

९. पूर्व र दक्षिण क्षेत्रको ६ हजार वर्ग किलोमिटर भूभाग रुसले पुन कब्जा गरेको युक्रेनको दाबी  रुसी सेनाको कब्जामा रहेको आफ्नो थप भूभाग नियन्त्रणमा लिएको युक्रेनी सेनाले  जनाएको  छ । गत सेप्टेम्बरदेखि  रुसी सेनाले कब्जा  गरेको पूर्व र दक्षिण क्षेत्रको ६ हजार  वर्ग किलोमिटर  भूभाग पुन कब्जा गरेको  दैनिक सम्बोधनका क्रममा  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  जानकारी दिए। युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौँ क्षेत्रहरू पुनः कब्जा गरेको छ । पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् । गत फेब्रुअरी २४ देखि २ देशबीच युद्ध जारी छ ।

१०. महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज दुई खेल हुँदै  नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज जित निकाल्दै दुवै टोली प्रतियोगिताको सुखद अन्त्यको योजनामा हुनेछ । यस्तै दोस्रो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल साँझ  साढे ५  मा सुरु हुनेछ ।भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।समूह ’बी’ बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।