तस्वीर- इण्डियन एक्सप्रेस

अन्तर्राष्ट्रिय

भारतको सेक्यन्दराबादमा आगलागी, आठ जनाको मृत्यु

By खबरहब

September 13, 2022

काठमाडौँ- भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् ।

सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् । आगलागीको कारण खुलेको छैन ।

स्थानीय वारूणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको भवनबाट निकालेको र सात जना घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन् । होटल भवनमा मानिस भएनभएको खोजी गरिएको र आगो पूर्णरूपमा निभाइएको उनले बताए ।