फाइल तस्वीर- डीएनए इण्डिया

अन्तर्राष्ट्रिय

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

By खबरहब

September 13, 2022

काठमाडौँ- पाकिस्तानबाट भारतीय भूमितर्फ आतंकवादीहरु प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको छ । भारत र पाकिस्तानबीच विवादमा रहेको कश्मीरस्थित उरी क्षेत्रबाट पाकिस्तानी आतंकवादीहरुले भारतीय भूमितर्फ प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको हो ।

विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरु भारतीय भूमिमा प्रवेश गर्न खोजिरहेको दृश्य कैद भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि भारतीय सैनिक कारवाहीका क्रममा तीनै जना आतंकवादीहरु मारिएको समेत एएनआईले जनाएको छ ।

‘गोप्य स्रोतले दिएको जानकारीपछि विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरुको पहिचान भएको थियो । यद्यपि सेनाको तैनाथ दस्ताको कारवाहीमा उनीहरुको मृत्यु भएको छ ।’ नाम नखुलाइएका सैनिक अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

सैनिक कारवाहीका क्रममा उनीहरुको शव, र सोही स्थानबाट दुई एके राइफल र एक चिनियाँ एम १६ राइफल बरामद गरिएको भारतीय सेनाले जनाएको छ ।