राजनीति

विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल

By खबरहब

November 13, 2022

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । अब नयाँ अभ्यासका रूपमा एकीकृत विकासको अवधारणा अघि सारिने उनले बताए ।

आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदार पौडेलले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकतालाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताए ।

उनले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने उनको भनाइ छ ।

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पहिल्याउन थालेको बताए । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताबारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन नभई ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौन् भनि जनतासामू ग्यारेन्टी गर्नुपर्ने उल्लेख गरे । ‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्,’ श्रेष्ठले भने, ‘नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिबद्ध छ । आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे ।