फाइल फोटो

समाचार

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

By खबरहब

December 13, 2022

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण  र कृषिसँग सम्बन्धित तथ्यांकलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए ।

अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट हेर्न सकिने कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिए । प्रणालीमा संस्थागत विवरण, कृषक विवरण, जग्गाको वर्गीकरण, सूचना र प्रकाशन गरेर विभिन्न शीर्षकमा विभाजन गरी सहज बनाइएको छ । सो प्रणाली निर्माणमा ड्रिमवर्क सोलुशनका कार्यक्रम व्यवस्थापक किरण बमनुले सहजीकरण गरेका थिए ।

उनले नगरपालिकालाई सो प्रणाली हस्तान्तरण समेत गरे । आगामी दिनमा नगरपालिकाले कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गरिनुका साथै कृषि ऋणका लागि व्यावसायिक योजना निर्माण तथा विश्लेषणको कार्य सफ्टवेयरबाट सञ्चालन गरिने कृषि प्राविधिक श्रेष्ठले बताए ।

नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले विभिन्न ३६ बुँदे माग राखी जिल्लाका १२  स्थानीय तहमा  ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले अहिलेसम्म देशमा संघीय शिक्षा ऐन बन्न नसक्नुलाई दुर्भाग्यपूर्ण भनेको छ । शिक्षा ऐन नबनेका कारण कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्दै महासङ्घले सोमबार जिल्लाका सबै स्थानीय तहलाई ध्यानाकर्षणपत्र बुझाउने क्रममा मेलम्ची नगरपालिकामा पनि बुझाएको हो ।

मेलम्ची नगर प्रमुख आइतमान तामाङले महासङ्घको मागप्रति नगरपालिका सकारात्मक रहेको बताए । उनले शिक्षक र स्थानीय तहले मात्रै शिक्षामा परिवर्तन गर्न नसक्ने भन्दै महासङ्घ, पेसागत सङ्गठन, अभिभावकलगायत सरोकारवालाको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । 

ध्यानाकर्षणपत्रमा शिक्षक सरुवा गर्दा साविकका ऐन, नियमानुसार सहमतिका आधारमा गरिनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्दा अध्यक्षलगायत बहुमत सदस्य अभिभावकमध्येबाटै छनोट गर्नुपर्ने, करार शिक्षक नियुक्ति गर्दा जिल्लाकै सूचीकृत विज्ञबाट गराउनुपर्ने, अनुमति र अभिलेखीकरण शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने लगायतको माग उल्लेख गरिएको महासङ्घका जिल्ला अध्यक्ष कुमारप्रसाद खतिवडाले जानकारी दिए । 

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख  तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्तरूपमा नगरपालिकासँगै रहेको गोदामघरको शुभारम्भ गरेका छन् । 

भवन सञ्चालनमा आएसँगै अब लामो समयदेखि रहँदै आएको भण्डारणको समस्या अन्त्य हुने भएको छ । सो भवनबाट भण्डारणसहित स्वास्थ्य, कृषि र विपद् शाखाको सेवा पाइने नगरपालिकाले जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेश सरकारबाट विनियोजित १९ लाख तीन हजार ३७ र आव २०७८/७९ मा आन्तरिक स्रोतबाट विनियोजित ३८ लाख ७० हजार आठ सय लागतमा नगरपालिकाको कार्यालय नजिकै उक्त गोदामघरकाे भवन निर्माण गरिएको हो ।